लक्ष्मण थारु उच्च अदालत जाने
धनगढी । कैलाली जिल्ला अदालतले टीकापुर घटनामा दोषी ठहर गरी तीन वर्ष कैद भुक्तान गरेका थरुहट नेता लक्ष्मण थारु उच्च अदालत जाने भएका छन् ।
राष्ट्रिय जनता पार्टी (राजपा) का नेता थारुले धनगढीमा पत्रकार सम्मेलन गरी अदालतको फैसलाले आफू अन्यायमा परेको भन्दै न्यायका लागि उच्च अदालत जाने बताएका हुन् । केन्द्रीय कारागार सदरखोरबाट जेलमुक्त भई आइतबार धनगढी फर्किएका उनले अदालतको फैसलाले आफूलाई स्तब्ध बनाएको बताए ।
आफूले अदालतको फैसलालाई सम्मान गरेको भन्दै उनले जन्मकैद सजाय सुनाइएका सांसद् रेशम चौधरी लगायत ११ जनालाई न्याय दिलाउन पनि समयमै उच्च अदालत पुग्ने बताए । ‘उच्च न्यायालयले हाम्रो राजनीतिक भविष्य अनिश्चित गर्न सक्दैन भन्ने विश्वास छ’, थारुले भने, ‘न्यायमूर्तिले अवश्य पनि बाँकी साथीहरुलाई पनि न्याय गर्ने छन् ।’
नेपालको राजनीतिक नेतृत्वले गर्न नसकेको साहस कैलाली जिल्ला अदालतका न्यायाधिश परशुराम भट्टराई गरेको उनले बताए । ‘त्यसका लागि न्यायाधिशप्रति आभारी छु,’ उनले भने, ‘राजनीतिक नेतृत्वले टीकापुर घटना बुझेन र थारु समुदायको मुद्दा पहिचान पनि गरेन । न त बुझ्ने प्रयास नै ग¥यो ।’
थारु समुदायको मुद्दालाई काल्पनिक र चुटकिला नठान्न प्रधानमन्त्री केपी शर्माओलीलाई आग्रह गर्दै नेता थारुले भने, ‘सिंहदरवारलाई उखेलेर मसानघाटसम्म पु¥याउने शक्ति थारु समुदायसंग छ । विगतमा गरिएको सम्झौता कार्यान्वयन गर्न सरकार गम्भीर बन्नु पर्छ ।’
हालको संघीय संरचना सात प्रदेश थारु समुदायले नस्वीकार्ने उल्लेख गर्दै उनले शान्तिपूर्ण आन्दोलन पुनः थालिनी गर्ने बताए । उनले आन्दोलनका लागि आफूहरु छलफल शुरु गरिसकेको बताए । उनले कैलाली कञ्चनपुर सहितको थरुहट प्रदेश स्थापना नभएसम्म आफूहरुले आन्दोलन गरिरहने बताए ।
टीकापुरमा थरुहट/थारुवान आन्दोलनको क्रममा एसएसपिसहित ७ जना सुरक्षाकर्मी र एक जना नावालकको ज्यान जाने गरी भएको घटनामा कैलाली जिल्ला अदालतका न्यायाधिश परशुराम भट्टराईको एकल इजलासले फागुन २२ गते दोषी ठहर गर्दै कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित रेशमलाल चौधरीसहित ११ जनालाई जन्मकैदको सजाय सुनाएको छ भने एक नावालक सहित १३ जनालाई तीन वर्ष कैदको सजाय सुनाइएको छ भने तीन जनालाई निर्दोष करार दिएर सफाई दिइएको छ ।