१८ बैशाख २०८१, मंगलवार

शिवरात्री र होलीमा हुलदंगा गर्नेलाई प्रहरीले नछोड्ने (भिडियो सहित)



धनगढी । शिवरात्री र होलीमा हुलदंगा गर्नेलाई प्रहरीले नछोड्ने भएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीले शनिबार समुदायसंग शिवरात्री र होलीको सुरक्षा व्यवस्थान सम्बन्धी छलफल आयोजना गरी हुलदंगा गर्नेलाई पक्राउ गरी सार्वजनिक हित विरुद्धको मुद्दा लगाउने जनाएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक आभुषण तिमिल्सिनाले शिवरात्रीमा भाँग र होलीमा मदिरा सेवन गरी हुलदंगा गर्नेलाई कुनै पनि हालतमा नछोड्ने जनाए । उनले भने, ‘तपाईहरुले पनि सहयोग गर्नुपर्छ । प्रहरीले शिवरात्री र होलीमा उछृंखल गतिविधि गर्नेलाई सार्वजनिक हित विरुद्ध मुद्दा चलाएर कारबाही गर्छौ ।’
प्रहरीले यसपालीको शिवरात्रीमा भाग लगायतका लागुपदार्थ प्रयोग गरिएको कुनै पनि खाद्य पदार्थ विक्री वितरण र प्रयोग गर्न नदिने भएको छ । पर्व मनाउने नाममा शिवरात्रीमा गाँजा, भाँगको प्रयोग गरी विगतमा ठूला ठूला घटना भएकाले प्रहरीले यसपाली शिवरात्रीमा कडा सुरक्षा व्यवस्था गरेको हो । प्रहरी उपरीक्षक तिमिल्सिनाले भाँग खाएर महिलाहरुमाथि अभद्र व्यवहार गर्ने र उनीहरुको सामान तथा गहना लुट्ने गरेको पाइएकोले यसपालीको शिवरात्रीमा डबल लोड बोकेका मोटरसाइकललाई पनि कडा चेकजाँच गर्ने जनाए ।

उनले होलीमा समेत महिला वा पुरुषलाई ईच्छा विपरित होली खेलाउनेलाई समेत पक्राउ गरी सार्वजनिक हित विरुद्धको मुद्दा चलाउने बताए । शिवरात्री र होलीमा प्रहरीले अनलाईन बस्ने र उजुरीका लागि जिल्ला प्रहरी कार्यालयको फेसबुकको इनबक्समा उजुरी गर्न सकिने व्यवस्था मिलाएको उनले बताए । उनले इनबक्समा जानकारी आउने वित्तिकै प्रहरी घटना स्थल पुगी पक्राउ गरी तत्काल मुद्दा दर्ता गरिने बताए । उनले शिवरात्री र होलीमा हरेक टोल नाकामा सवारी साधन कडा रुपमा चेक जाँच गर्ने बताए ।

छलफलमा सहभागी जनप्रतिनिधि, स्थानीय समुदाय र युवाहरुले पनि प्रहरीलाई चाडपर्वको बेला कडा सुरक्षा व्यवस्था गर्न आग्रह गरेका थिए । उनीहरुले प्रहरीलाई शिवरात्री र होलीमा अभद्र व्यवहार गर्नेलाई कारबाही गर्न साथ दिने प्रतिवद्धता जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार