१४ कार्तिक २०८१, बुधबार

हेलिकाेप्टर दुर्घटना : मन्त्री रवीन्द्र अधिकारी सहित सबैकाे निधन



काठमाडाैं । ताप्लेजुङमा भएको हेलिकाेप्टर दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाकाे निधन भएको छ। फुङलिङ नगरपालिका-१०, काफ्लेपाटी (फुरुङ्गे सिस्नेखोला) नजिकैको तारेढुंगा भीरमा दिउँसो साढे १ बजे हेलिकोप्टर दुर्घटना भएको हो।

दुर्घटनास्थलमा ७ जनाकाे शव फेला परेकाे हेली साेसाइटी अफ नेपालका एक प्रतिनिधिले पुष्टि गरे।

फुङलिङ नगरपालिकाका उपप्रमुख बमबहादुर भट्टराई ‘तारा’ले पनि मृतकमध्ये ५ जनाकाे शव फेला परेकाे पुष्टि गरे।

‘दुर्घटना भएकाे जानकारी मिल्नासाथ हामी साे स्थानतर्फ जाँदैछाैं’, उपप्रमुख  भट्टराईले भने, ‘दुर्घटना स्थलमा पुगेका स्थानीयले सबैजनाकाे मृत्यु भएकाे र हालसम्म ५ जनाकाे शव भेटिएकाे पुष्टि गरेका छन्।’

उनका अनुसार दुर्घटनास्थल फुङलिङ नगरपालिका र भक्तालुङ गाउँपािलकाकाे सीमा क्षेत्रमा पर्छ। उनले भने, ‘साे क्षेत्र प्रसिद्ध तीर्थस्थल पाथिभराकाे नजिक रहेकाे छ।’

अहिले घटनास्थलतर्फ जिल्लास्थित सरकारी अधिकारी तथा प्रहरीसहितकाे उद्धार टाेली पुग्दै गरेकाे उनले बताए।

‘हाल ताप्लेजुङमा कुहिराे लागिरहेकाे र पानी पनि परिरहेकाे छ’, भट्टराईले भने।

ताप्लेजुङमा एयर डाइनेस्टीकाे हेलिकाेप्टर दुर्घटनाकाे विमानस्थल कार्यालयलेसमेत पुष्टि गरेकाे छ। 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित हेलिकाेप्टरमा ७ जना थिए। 

हेलिकोप्टरमा मन्त्री अधिकारीसहित हेलिकोप्टरमा पर्यटन व्यवसायी आङछिरङ शेर्पा, प्रधानमन्त्रीका निजी सचिव युवराज दाहाल, अर्जुन घिमिरे, नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता वीरेन्द्रप्रसाद श्रेष्ठ, प्राधिकरणकै ध्रुव भोचिभैया सवार थिए। उक्त हेलिकोप्टर प्रभाकर केसीले उडाएका थिए।

एयर डाइनेस्टीको कलसाइन एएस ३५० हेलिकोप्टर काठमाडौंबाट आज बिहान साढे ८ बजे उडेको थियो। 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार