७ चैत्र २०८१, शुक्रबार

यार्सागुम्बा बिक्री भएन



दार्चुला । दार्चुलामा यस वर्ष यार्सागुम्बा बिक्री भएको छैन । व्यवसायीले खरिद गरिएका यार्सागुम्बा अझै बिक्री हुन नसकेको हो ।
गत असारदेखि भदौसम्म खरिद गरिएका यार्सागुम्बामध्ये दुई क्विन्टल बढी अझै बिक्री हुन सकेको छैन । बिक्री नहुँदा व्यापारी र संकलक दुवै समस्यामा परेका छन् ।
स्थानीयवासी र व्यापारीको मुख्य आयस्रोतको रुपमा रहेका यार्सागुम्बा बिक्री नभएपछि हातमुख जोर्न समस्या भएकोे छ ।
एकातिर यार्सागुम्बा संकलकले व्यापारीबाट यार्साबापतको रुपैया“ मागिरहेका छन् भने अर्कोतर जिल्लाका व्यापारीले खरिद गरेको यार्सागुम्बा बिक्री गर्न नसक्दा समस्यामा परेको छ ।
यार्सागुम्बा व्यापारी तेजबहादुर बमले यो वर्ष खरीद गरेको झण्डै एक क्विन्टल यार्सागुम्बामध्ये आधा पनि बिक्री हुन नसकेको बताए । ‘मैले झण्डै ९० किलोग्रामको हाराहारीमा यार्सागुम्बा खरिद गरे, तर हालसम्म ३०÷३५ किलोग्राम जति मात्रै बिक्री गर्न सकेको छु’, उनले भने ।
‘गुणस्तर हेरेर प्रतिकिलो रु १७ लाखदेखि २४ लाखसम्मका दरले खरिद गरेको यार्सागुम्बा बिक्री नभएपछि हामी समस्यामा छौ’, व्यापारी बमले भने, ‘काठमाडौंमा अहिले प्रतिकिलोग्राम रु १० लाखमा बिक्री हुन मुस्किल भइरहेको छ, विशेषगरी चीनका व्यापारीले निर्यात गर्ने यार्सागुम्बामा कम मूल्य भन्न थालेपछि बिक्री रोकिएको छ ।’
उनले भने, ‘यार्सागुम्बामा प्रतिकिलोग्राम रु सातदेखि ८ लाख घाटा छ । एकातिर स्थानीय संकलकबाट उधारोमै यार्सागुम्बा संकलन गरिएको छ । उनीहरूले पनि यार्साको रुपैया“ माग्दैछन, तर हाम्म्रो यार्सा नै बिक्री भएको छैन ।’
दार्चुलाबाट यार्सा खरिद गरी काठमाडौं गएर फर्किएका अधिकांश व्यापारी यार्सागुम्बाको भाउ नमिलेको भन्दै निराश भएर फर्किएका छन् ।
व्यापारी सोभानसिंह ठगुन्नाले भने, ‘एक महिना काठमाडौं बसेर यार्सागुम्बा बिक्री भएन । अहिलेको अवस्थामा जिल्लाका अधिकांश व्यापारीको घरजग्गा बिक्री हुने अवस्थामा पुगेका छ ।’

यार्सागुम्बा बिक्री भएको छैन । बैंकको ऋण, आफन्तबाट निकालेको ऋण तथा संकलकलाई तिर्नुपर्ने रकम कसरी दिने भन्ने समस्या छ । साना ठूला सबै व्यापारी अहिले यार्सागुम्बा बिक्री नहु“दा समस्यामा छन् ।
व्यापारी ठगुन्नाले अहिलेकै अनुपातमा यार्सागुम्बा बिक्री गर्ने हो भने रु १ करोड घाटा हु“दैछ । अहिले यार्सागुम्बा काठमाडौ“ पुर्याएर राखिएको छ ।
अधिकांश व्यापारीको भने अझै जिल्लामै यार्सागुम्बा थन्क्याएका छन् । व्यापारीका अनुसार झण्डै २ क्विन्टल यार्सागुम्बा जिल्लामै छ ।
‘आफूले यार्सागुम्बाको कारोवार गर्दा अहिलेको जस्तो अवस्था कहिल्यै भएको थिएन,’ उनले भने ।
अपी नाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाका सहायक संरक्षण अधिकृत एवम् सूचना अधिकारी राजु घिमिरेका अनुसार हालसम्म जिल्लाबाट ५ सय ५५ किलोग्राम यार्सागुम्बा निकासी गरिएको छ ।
अझै व्यापारीले मूल्य नपाएको भन्दै यार्सागुम्बा बाहिर लिएका छैनन् । कार्यालयले यो वर्ष यार्सागुम्बा व्यवस्थापन (संकलन तथा ओसारपसार) निर्देशिका २०७३ अनुसार ८ सय २० क्विन्टल यार्सागुम्बा निकासी गर्न सकिने उल्लेख छ । व्यापारीको मागअनुसार यार्सा निकासीको परिणाम बढाइएको हो ।
साउन भदौमा जिल्लाका सबै यार्सागुम्बा व्यापारीले खरिद गरेका थिए । चीनमा यार्सागुम्बा निर्यात गर्ने ठूला व्यापारीबाट लागत मूल्य पनि नपाएपछि यार्सागुम्बा त्यतिकै थन्किएको छ ।
‘यार्सागुम्बा बिक्री गर्न नसके सडेर जाने तथा किरा लाग्ने चिन्ता थपिएको छ,’ अर्का व्यापारी धनसिंह जागरीले भने । काठमाडौंमा यार्सागुम्बा बिक्री नभएपछि व्यापारीले यार्सा संकलन गर्नेको रकमसमेत भुक्तानी गर्न सकेका छैनन् ।
दुहु“का यार्सागुम्बा संकलक करवीरसिंह कुँवर व्यापारीले लिएको यार्सागुम्बाको रकम हालसम्म नदिएको बताउँछन् । उनले भने, ‘कतिपय व्यापारीले नगद दिएर यार्सागुम्बा खरीद गरेका थिए, कतिले काठमाडौँमा बिक्री भएपछि दिन्छु भनेर लिएका हुन् तर अझै पैसा पाइएको छैन । व्यापारीले रकम नदिंदा उधारो खाएको सामानको ऋण तिर्न सकिएको छैन ।’
दार्चुलाका अपी हिमाल, व्यास, दुहु नौगाड गाउँपालिकाका अधिकांश स्थानीयको आर्थिक स्रोतका रुपमा यार्सागुम्बा र जडिबुटी हो । जिल्लाको लोलु, अपी फेद, सतगङगा, फुल्टेवन, काटै, घट्टेखोला, चाइमटेला, धरमघर, क्षति, नाम्पा, दोपाखे, दुम्लीङलगायतका पाटनमा यार्सागुम्बा पाइने गरेको छ ।
हरेक वर्ष जिल्लाबाट ६ देखि ८ क्विन्टल बढी यार्सागुम्बा निकासी हुने गरेको छ । कार्यालयले यो वर्ष यार्सागुम्बाको छोडपुर्जी निकासीबापत रु १ करोड ६३ लाख ५० हजार राजश्व संकलन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार