१८ आश्विन २०८१, शुक्रबार

घाटगद्दी समितिको बैठक आईतबार, क्रसर सञ्चालनमा अनुमति दिन आग्रह



धनगढी ।  ढुङ्गा, बालुवा, गिट्टी उत्खन्न, संकलन तथा घाटगद्दी समितिको बैठक आईतबार बस्ने भएको छ ।
कैलालीको गोदावरी नगरपालिका वडा नम्बर २ महरा टोलस्थित अनुमतिविनै सञ्चालनमा रहेको घुम्ती क्रसरबारे समितिको बैठक बस्न लागेको जिल्ला समन्वय समिति कैलालीले जनाएको छ ।
निर्माणाधिन मोहनापुल अत्तरिया छ लेन सडक आयोजनाको ठेक्का पाएको शर्मा अमर नागार्जुनले गत मंसिरदेखि सो स्थानमा क्रसर सञ्चालन गरिरहेको थियो । विभिन्न सञ्चारमाध्यममा ‘अवैध रुपमा घुम्ती क्रसर’ शिर्षक समाचार प्रकाशन भएपछि समितिले सो बारे चासो दिएको थियो ।
समितिले कम्पनीसंग कागजपत्र माग गरेको थियो । कम्पनीका सञ्चालक इश्वरी भट्टले आइतबार समितिलाई कागजपत्र बुझाएको थियो । आईतबार बुझाएको कागजपत्र अधुरै भएपछि पुनः थप कागजपत्र पेश गर्न समितिले पत्र पठाएको थियो । समितिले अहिले सो क्रसरलाई बन्द गरेको छ ।
‘हामीलाई प्राप्त कागजपत्रका आधारमा आईतबार क्रसरबारे निर्णय गरिने छ’ जिल्ला समन्वय समितिका संयोजक सूर्यबहादुर थापाले भने । जिल्ला समन्वय समिति कैलालीका अनुसार कम्पनीले समितिलाई सामुदायिक वनसंगको सम्झौतापत्र, नगरपालिकाको पत्र, छ लेन सडक आयोजनाले आवश्यक सहयोग गरिदिन भनी पठाएको पत्र लगायतका कागजपत्र बुझाएको छ ।
समितिलाई बुझाएको विवरणमा वातावरणीय प्रभाव मूल्यांकन, क्रसर सञ्चालन गर्न पाउने भन्ने लगायतका कागजपत्र भने छैन् । नगरपालिकाले कार्तिक १२ गते लेखेको पत्रमा स्काभेटर र भ्याकुलोडर प्रयोग गर्न पाउने र फागुन महिनासम्म २५ हजार घनमिटर ग्राभेलमात्र उत्खनन् गर्न पाउने उल्लेख छ । सो पत्रमा नदीको दुई मिटरसम्ममात्र र वातावरणीय प्रभाव मूल्यांकन भएको क्षेत्रमा उत्खनन गर्न पाउने उल्लेख छ ।
यसैगरी, मोहनापुल अत्तरिया छ लेन सडक आयोजनाले क्रसर सञ्चालन अनुमति दिन भनी जिल्ला समन्वय समिति कैलालीलाई पत्र पठाएको छ ।
समितिले घुम्ती क्रसर बन्द गराएपछि आयोजनाले फागुन २९ गते सो पत्र पठाएको जनाएको छ । निर्माण सामाग्रीको अभावले सम्झौता अवधिसम्म काम सम्पन्न हुन नसक्ने भन्दै सो घुम्ती क्रसरलाई निरन्तरता दिन सहयोग गरिदिन हुन पत्रमा उल्लेख छ ।
आयोजनाले कम्पनीले एकता सामुदायिक वनसंग सहमती गरि स्थापना गरेको र गोदावरी नगरपालिकासंग नदीबाट नदीजन्य पदार्थ उठाउने अनुमति पाइसकेकोले कार्यालयले पनि आवश्यक सहयोग गर्नुपर्ने जनाएको छ ।
मोहनापुल–अत्तरिया छ लेन सडक नेपाल सरकारको प्राथमिकताको कार्यक्रम हो । कम्पनीले मोहनापुलदेखि बोराडा“डीसम्म चार दशमलब पा“च किलोमिटर सडक निर्माणको ठेक्का पाएको थियो । सो सडकखण्ड निर्माणका लागि तल्लो सतह पथ (सव वेस कोर्ष)का लागि ३५ हजार घनमिटर, सतह (वेस) २५ घनमिटर समस्टी (एग्रिगेट) तीन हजार एक सय घनमिटर ढुङ्गा र बालुवा गरि १५ हजार हजार घनमिटर निर्माण सामाग्री आवश्यक रहेको सो पत्रमार्फत अवगत गराएको छ ।
आयोजनाको कार्यालयले जिल्ला प्रशासन कार्यालय कैलाली, गोदावरी नगरपालिकाको कार्यालय, एकता सामुदायिक वन लगायतलाई पनि सो पत्र पठाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार