थप साढे ५ किलोग्राम बढी अवैध सुन बरामद
कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ झलारीबाट बिहीबार राति थप साढे ५ किलोग्राम भन्दा बढी अवैध सुन बरामद भएको छ । केन्द्रीय अनुसन्धान ब्यूरो र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको संयुक्त टोलीले लक्ष्मण तिरुवाको घरबाट ५ किलो ६ सयग्राम (३४ बिष्कुट) सुन बरामद गरेको हो । बिहीबार बिहान पुनर्वास नगरपालिका–२ दशरथवस्तीबाट १८ किलो अवैध सुन बरामद गरिएको थियो । सुन तस्करीमा संलग्न लक्ष्मण तिरुवा र उनका भाई सुरज तिरुवालाई प्रहरीले पक्राउ गरेको थियो । अनुसन्धानकै क्रममा लक्ष्मणले थप सुन आफ्नै घरमा लुकाएको खुलेको केन्द्रीय अनुसन्धान ब्युरोका एसपी सुदीप गिरीले बताए । ‘थप ३४ बिस्कुट सुन बरामद भएको छ’ उनले भने ।
प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा पुनर्वास र शुक्लाफाँटा दुवै ठाँउबाट बरामद भएको सुन भारतबाट चोरेर ल्याएको देखिएको छ । एसपी गिरीका अनुसार लक्ष्मण भारतको दिल्लीमा चालकको काम गर्थे । उनका मालिकले म्यानमारबाट तस्करी गरि ल्याएको सुन चोरेर नेपाल भित्र्याइएको अनुसन्धानका क्रममा खुलेको उनले जानकारी दिए । लक्ष्मण आफूले चलाउने गाडीसहित नोभेम्बर २६ मा नेपाल पसेको उनले बताए ।
प्रहरीले पक्राउ गरेका लक्ष्मणका भाई सुरज जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत प्रहरी जवान हुन् । उनकै सहयोगमा पुनर्वासको सुन बरामद भएको एसपी गिरीले बताए । सुन तस्करीमा संलग्नता नदेखिए पनि लुकाई छिपाई राख्ने काममा उनको संलग्नता देखिएको उनले बताए ।