७ चैत्र २०८१, शुक्रबार

निर्मला हत्याकाण्डमा नयाँ मोड : डिएनए संकलन प्रक्रिया नै गलत– रामाअ आयोग



काठमाडौं । गत साउनमा कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा नयाँ मोड आएको छ । हत्याकाण्डबारे राष्ट्रिय मानव अधिकार आयोगले तीन महिनाअघि गठन गरेको विज्ञ टोलीले डिएनए नमुना संकलन प्रक्रिया नै गलत भएको निष्कर्ष निकालेको छ ।
साउन १० गते घरबाट हराएर ११ गते शव भेटिएकी बालिका पन्तको हत्या घटना सम्बन्धमा अनुसन्धान गर्न राष्ट्रिय मानव अधिकार आयोगले गत कात्तिक २७ गते एउटा विज्ञ टोली गठन गरेको थियो ।
पूर्वमहान्यायधिवक्ता नरेन्द्र पाठकको संयोजकत्वमा गठित टोलीमा नेपाल प्रहरीका पूर्व एआइजी विज्ञानराज शर्मा, फरेन्सिक विज्ञ डाक्टर हरिहर वस्ती, डिएनए विशेषज्ञ दिनेश झा र आयोगका केही अधिकारी थिए । टोलीले आफ्नो प्रतिवेदन आइतबार सरकार समक्ष पेस गरेको छ ।सो टोलीले निर्मला पन्तको शवबाट भेजाइनल स्वाब संकलन नै त्रुटिपूर्ण भएको निष्कर्ष निकालेको छ । बालिका पन्तको भेजाइनल स्वावबाट डिएनएको नमूना संकलन गर्दा सिन्कोमा कपास बेरेर गरेको र सो प्रक्रिया नै गलत भएको आयोगको टोलीको प्रतिवेदनमा उल्लेख छ । यसरी संकलन गरी टेष्ट ट्युबमा राख्दा पर्याप्त मात्रामा डिएनए संकलन नहुने र डिएनए ह्रास हुँदै जाने, नष्ट हुने र परिणाम सही नआउने आयोगको निष्कर्ष छ । जसकारण अहिलेको डिएनए नै त्रुटिपूर्ण भएको आयोगले जनाएको छ ।
संकलित लो, मिड र हाइ भेजाइनल स्वाबको डिएनए नमुना प्रहरीले साउन १५ गते प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालामा पठाएको थियो । सो स्वाबमा पुरुष वीर्य भए वा नभएको, भएमा एक व्यक्ति वा धेरै व्यक्तिको भएको जानकारी लिन पठाएको थियो ।
संसारमा तीन किसिमको डिएनए प्रचलित रहेको बताइन्छ– अटोसोमल एसटिआर, वाई एसटिआर र माइटोकोन्ड्रियल सिक्वेसिङ । अटोसोमल एसटिआर भने अपराधी पहिचान गरिने मुख्य डिएनए हो । पुरुषमा मात्रै हुने वाई एसटिआर जबरजस्ती करणीको केशमा प्रभावकारी मानिन्छ । तर, कयौ“ पुरुषका पुस्तामा सदस्यहरूबीच एकैनासका हुने वाई एसटिआरबाट निश्चित व्यक्ति यकिन गर्न सम्भव हुँदैन । तर, निर्मलाको केशमा वाई एसटिआर प्रविधिबाट मात्रै परीक्षण गरिएको ओयोगको टोलीले जनाएको छ । जुन प्रविधिबाट वंश वा समूहमात्रै पहिचान गर्न सकिने बताइएको छ ।
तर, व्यक्ति पहिचान गर्न सकिने अटोसोमल परीक्षण नगरिएको आयोगको टोलीले जनाएको छ । त्यस्तै संकलित भेजाइनल स्वाबमा महिला स्वाब र पुरुष वीर्यको छुट्टाछुट्टै परीक्षण गर्नु पर्नेमा मिश्रित रूपमा परीक्षण गरिएकाले सो समेत गलत भएको निष्कर्ष निकालिएको छ ।
जसकारण वंश वा समूह मात्रै छुट्टिने भयो तर व्यक्ति नछुट्टिने भएको उल्लेख गरिएको छ । त्यस्तै डिएनए प्रविधिको आकर्षक पक्ष नै व्यक्ति यकिन गर्नु हो । यस केशमा भेजाइनल स्वाबबाट १६ वटा वाई एसटिआर सुरक्षित छन् । आगामी दिनमा कुनै आरोपितस“ग १६ वटै वाई एसटिआर मिलेको अवस्थामा समेत उक्त व्यक्ति अपराधी भएको पुष्टि हुने आधार हुने नहुने आयोगले उल्लेख गरेको छ ।
आयोगले उल्लेख गरेअनुसार नेपालको एक अध्ययनमा फरक भौगोलिक क्षेत्रका फरक थर भएका व्यक्तिहरूबीच १५ वटासम्म वाई एसटिआर मिलेको समेत जनाइएको छ । त्यस्तै निर्मला केशमा समेत डिएनए गरिएका बडू थरका व्यक्ति र अर्का एक बडू थरका व्यक्तिको समेत शतप्रतिशत वाई एसटिआर मिलेको आयोगको प्रतिवेदनमा उल्लेख छ । त्यसैले वाई एसटिआरमार्फत निर्मलाका हत्यारा पत्ता नलाग्ने आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार