३ पुष २०८२, बिहीबार

सुदूरपश्चिमका जिल्ला समन्वय समितिका सदस्यहरु आन्दोलित



धनगढी । सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्ला समन्वय समितिका सदस्यहरु आन्दोलित भएका छन् ।

संघीय र प्रदेश सरकारले समन्वय समितिलाई आफु मातहातको निकाय नमानेको, जिसस पदाधिकारीमाथि विभेद गरेको लगायतको गुनासो गर्दै उनीहरु आन्दोलित भएका हुन् । जिल्ला समन्वय समिति सदस्यहरुले विभिन्न चार बुँदे माग राख्दै आईतबार सुदूरपश्चिम प्रदेश मुख्यमन्त्री त्रिलोचन भट्टलाई ज्ञापन पत्र बुझाएका छन् । संयोजक टेकबहादुर बुढा मुख्यमन्त्री भट्टलाई ज्ञापनपत्र बुझाएका हुन् ।

‘हामी पनि जनताबाट निर्वाचित भएर आएका जनप्रतिनिधी हौं । तर, संघीय र प्रदेश सरकारले संयोजक र उप संयोजकलाई मात्र पदाधिकारी भएको जस्तो गरिरहेको छ’ संयोजक बुढाले भने । उनले जिल्ला समन्वय समितिका सदस्यहरुको मर्यादा क्रम तोकिनुपर्ने, सदस्यहरुको पनि स्पष्ट काम र जिम्मेवारी तोकिनुपर्ने, सदस्यहरुको सेवा सुविधामा एकरुपता ल्याउनुपर्ने, सुदूरपश्चिम प्रदेशले जिल्ला समन्वय समितिलाई पनि बजेट विनियोजन गर्नुपर्ने लगायतका माग रहेको बताए ।

उनले माग पुरा नभएसम्म कुनै पनि बैठक तथा कार्यक्रममा सदस्यहरु सहभागि नहुने चार दिनसम्म चलेको बैठकले निर्णय गरेको बताए । माघ ९ गतेदेखि सञ्चालन भएको जिसस सदस्यहरुको पूर्ण बैठक आईतबार सम्पन्न भएको थियो । उनले भने ‘हाम्रा माग पुरा भएनन भने चैत १ गते सबैले सामुहिक राजीनामा दिने निर्णय गरेका छौं ।’ यस प्रदेशको नौ वटा जिल्ला समन्वय समितिमा ६३ जना सदस्य रहेका छन् । समितिको सदस्यहरुको पूर्ण बैठकमा ४० जनाको सहभागिता रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार