३ पुष २०८२, बिहीबार

सुदूरपश्चिम प्रदेश सभामा दुई विधेयक (भिडियो सहित)



धनगढी । सुदूरपश्चिम प्रदेश सभामा एउटा विधेयक र अर्को विधेशक सम्बन्धी प्रतिवेदन पेश भएको छ ।
सांसदको हिउँदे अधिवेशन अन्तरगत शुक्रबार बसेको दोस्रो बैठकमा प्रदेश सभा सचिवालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ र सुदूरपश्चिम प्रदेशको सहकारी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको प्रतिवेदन पेश भएको हो । सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले विधेयक पेश गरेका थिए भने सामाजिक विकास समितिकी संयोजक कुन्ती जोशीले प्रतिवेदन पेश गरेकी थिइन् ।

संसदमा पेश भएको प्रदेश सभाको सचिव र सचिवालय सम्बन्धी विधेयकमा सचिवालय र सचिवका् काम, कर्तव्य, अधिकार र पारिश्रमिक, सेवा, सुविधा, विदा तथा उपचार खर्चको सम्बन्धी व्यवस्था गरिएको छ । सहकारी विधेयक सम्बन्धी प्रतिवेदनमा सामाजिक विकास समितिले दफावार छलफल गरी सुझाव समेत उल्लेख गरिएको छ ।

बैठकमा विशेष समय लिएर सांसद्हरुले वर्तमानको मौषमका कारण पीडित नागरिकहरुलाई राहत दिनुपर्ने, बजेट खर्चका अवस्थाबारे सरकारले संसदलाई जानकारी दिनुपर्ने, अबैध रुपमा भएको रुख कटानी, ढुंगा, गिट्टी, बालुवा संकलन लगायतको प्राकृतिक स्रोत दोहन रोकिनु पर्ने माग गरेका छन् ।
नेकपाका सांसद् अक्कलबहादुर रावलले चट्याङ परेर मृत्यु भएका व्यक्तिका सदस्य, घाइते तथा क्षतिको विवरण लिएर उपचार खर्च लगायतको राहत तथा क्षतिपूर्ति दिनुपर्ने माग गरे । उनले त्यो राहत प्रदेश सभाको आकस्मिक कोषबाट दिनुपर्ने बताए ।

नेकपाकी सांसद् पूर्णा जोशीले हिमपातबाट पीडित परिवारलाई क्षतिपूर्ति दिन र हिमपातका कारण सडक अवरुद्ध, पहिरो लगायत हुन सक्ने खतराबाट सजग रहन आग्रह गरिन् । उनले हिउँका कारण अवरुद्ध हुने सडक खुलाउन ठाउँ ठाउँमा डोजर तयारी अवस्थामा राख्न प्रदेश सरकारलाई आग्रह गरिन् ।
नेकपाका सांसद लालबहादुर खड्काले सुदूरपश्चिम विश्व विद्यालयको केन्द्रीय क्याम्पसमा ६ जनाको आवश्यकता रहेकोमा ५३ जनालाई कुनै निवेदन र निर्णय विना नियुक्त गरेको विषय तत्काललाइै समाधान भएपनि उनीहरु पुनः हाजिर लगाउन सक्नेतर्फ प्रदेश सभा र सरकार सचेत रहनुपर्ने बताए ।
राजपाका सांसद् कृष्णबहादुर चौधरी, नेपाली कांग्रेसकी सांसद् कुमारी नन्दा बम र डिल्लीराज पन्तले सरकारले काम गर्न नसकेको बताए ।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार