व्यावसायिक टिमुर खेती
डोटी । डोटी जोरायल गाउँपालिका वडा नम्बर ५ गड्सेरामा लीलाधर विष्टसहितको समूहले व्यावसायिक रुपमा टिमुर खेती शुरु गरेको छ ।
टिमुरको उपयोगिता, बजार, यस सम्बन्धी आवश्यक ज्ञान दिनका लागि आफूहरुले सो व्यवसाय शुरु गरेको किसान लीलाधरले बताए । उनले भने, ‘टिमुरको बारेमा डोटीमा खासै ज्ञान नभएको र प्रशस्त रुपमा पाइने टिमुर खेर जान थालेपछि आफूहरुले सामूहिक रुपमा टिमुरखेती गर्न थालेका छौ ।’
‘टिमुर फलाउन सके यो आम्दानीको राम्रो स्रोत हुन सक्छ’, किसान विष्टले भने, ‘टिमुर बहुउपयोगी वनस्पति भएकाले यो स्वास्थ्यका लागि निकै उपयोगी हुन्छ ।’
सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाका जंगलमा प्रशस्त रुपमा पाइने टिमुरको बारेमा सरकारी पक्षबाट किसानलाई खासै जानकारी दिन नसकि“दा यो उपयोग बिहीन हुन थालेको बोगटान गाउँपालिकाका स्थानीय बमबहादुर बमले बताए ।
उनले भने,‘टिमुरले गर्ने फाइदाको बारेमा यहा“का किसानलाई ज्ञान दिनसके यसले किसानलाई राम्रै आम्दानी दिने देखिन्छ तर त्यसो गर्न सकिएको छैन् ।’ सुदूरपश्चिम प्रदेशका डडेल्धुरा, अछाम, बाजुरा, बझाङ तथा डोटी जिल्लामा टिमुर खेतीको सम्भावना बढी भएको कृषि इकाइ कार्यालय डोटीका कृषि प्राविधिक मनोज खड्काले बताए ।
उनले भने, ‘टिमुरले रोपिएको पाँच वर्षबाट उत्पादन दिन शुरु गर्छ, रोपेको ३०/४० वर्षसम्म फल दिने भएकाले यसको खेती गर्दा किसानलाई फाइदा नै फाइदा हुन्छ ।’ सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा टिमुरखेती गरेर किसानको आर्थिक अवस्था बलियो बनाउन सकिने प्रवल सम्भावना रहेको गैराका स्थानीय छपेशबहादुर मल्लले बताए ।
डोटीमा सुकाएको टिमुर गाउँमा प्रतिकेजी रु दुई सय र बजारमा रु २५० मा बिक्री हुने गरेको स्थानीय व्यापारी बताउ“छन् ।





