१ बैशाख २०८२, सोमबार

बालबालिकाका लागि सहज प्रवेश नभएका बालउद्यान



धनगढी । धनगढी उपमहानगरपालिका कार्यालय छेउमा रहेको बाल उद्यान । बाल उद्यानको भित्तामा ठूलो अक्षरमा लेखिएको छ– शान्ति बाल उद्यान । तर, यो उद्यानमा सबै बालबालिकाले सहजै प्रवेश गर्न पाउँदैनन् । यो उद्यान बालबालिकामा फूलवारी, पिरामिड योगधाम, शान्तिको प्रतिक परिको मूर्ति, चिप्लेटी, पिङ लगायत रहेका छन् । तर, यो प्राय: बालबालिकाले यो उद्यानको बाहिरबाटै यी सबैलाई हेरेर चित्त बुझाउँछन् ।
धनगढी उपमहानगरपालिकाको स्वामित्वमा रहेको यो उद्यानलाई २०७० सालमा ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयलाई दिने निर्णय गरेको थियो । सो निर्णयको तीन वर्षपछि २०७३ साल फागुनमा सो उद्यान सञ्चालनमा ल्याइएको थियो ।
ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयले सञ्चालनमा ल्याएदेखि सबै बालबालिकालाई सो उद्यानमा आफूखुशी जानमा रोक लगाइएको छ । धनगढी उपमहानगरपालिकाका नायव सुब्बा हेमराज भण्डारीले भने– “दैनिक बिहान ६ देखि ७ बजेसम्म ध्यान गर्नका लागि खुला हुन्छ । भने बालबालिकाका लागि शुक्रबार दिउँसो २ बजेदेखि ५ बजेसम्म खुल्ला रहने गरेको छ ।”
यो उद्यान २०४२ सालमा चिल्ड्रेन पार्कका नाममा निर्माण भएको थियो । तत्कालिन नगर पञ्चायतले सो बाल उद्यान निर्माण गरेको थियो । त्यही बेलादेखि बाल उद्यानमा चिप्लेटी, झुला, पिङसहित बालबालिकाका लागि मनोरञ्जनका सामग्रीको व्यवस्था गरिएको थियो ।
तर, सो बाल उद्यान (चिल्ड्ेरन पार्क) को व्यवस्थापनमा न त तत्कालीन धनगढी नगरपञ्चायत न २०४६ सालपछि बनेको नगरपालिकाले नै ध्यान दियो । परिणामस्वरूप बाल उद्यान कुरूप बन्दै गयो । बालबालिकाको मनोरञ्जनका लागि निर्माण गरिएका पिङ, चिप्लेटी लगायतका सामग्री जीर्ण बन्दै गए । बाल उद्यान गौचरणमा परिणत भयो । सो बाल उद्यान दुई हजार एक सय ४८ वर्ग मिटर क्षेत्रफलमा फैलिएको छ । वेवारिस झैं बनेको सो बाल उद्यान ब्रम्हाकुमारी ईश्वरीय विश्वविद्यालयलाई हस्तान्तरण गरिएपछि भने अहिले त्यसको मुहार फेरिएको छ । बाल उद्यानमा अहिले विभिन्न प्रजातिका फूल रोपिएका छन् । शान्तिको प्रतिक राखिएको छ । एउटा ध्यान कोठा बनाइएको छ ।
“उपमहानगरपालिकाले आफूले निर्णय गरेर ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयलाई सो उद्यान व्यस्थित गर्न जिम्मेवारी दिएको हो” नायव सुब्बा भण्डारीले भने– “कुनै सूचना जारी गरेर वा ठेक्कापट्टाको सम्झौता गरिएको होइन ।
ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयको सामाजिक सञ्जाल ‘फेसबुक’ मा राखिएको तस्बिरमा कुनै पनि विद्यालयले आफ्ना विद्यार्थीहरूलाई केही समय घुमाउन चाहेमा खोलिने गरेको देखिएको छ ।” “हामीले सातै दिन बिहानदेखि साँझसम्म सो उद्यान सञ्चालनमा ल्याउन चाहेका छौं” ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयकी सञ्चालिका हिरा दिदीले भनिन्– “तर, बालबालिकाले त्यहाँ भएका बोट विरुवा चुड्ने, भौतिक संरचनामा असर पुर्‍याउने जस्ता क्रियाकलाप गर्ने भएकाले व्यस्थित गर्नु परेको हो ।”
उनले बाल उद्यानमा निर्माण भएका संरचना र बोटविरुवाको संरक्षणका लागि पर्याप्त जनशक्ति नभएको बताइन् । “हामीसँग आवश्यक जनशक्ति राख्ने आर्थिक स्रोत पनि छैन” उनले भनिन् ।
धनगढी उपमहानगरपालिकालाई बालमैत्री नगर घोषणा गर्न हरेक वडामा एक पार्क, बालमैत्री खानेपानी, तथा बालमैत्री भौतिक संरचना बनाउने नीति अवलम्बन गरिएको छ । उपमहानगरपालिकाका सामुदायिक शाखा अधिकृत टंक बिष्टले बालमैत्री नगरको अवधारणाा अनुसार नै वडा नम्बर १ मा रहेको सो बाल उद्यान सञ्चालनमा ल्याइएको बताए । शाखा अधिकृत बिष्टले बाल उद्यानलाई बालबालिकाका लागि बिहानदेखि साँझसम्म खोल्नु जरुरी रहेको बताए ।

सम्बन्धित समाचार 

बाल उद्यानभित्र रिसोर्ट

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार