छरिएको पुँजी संकलनमा सहकारीको प्रमुख भूमिका– मन्त्री चौधरी
बौनिया । सुदूरपश्चिम प्रदेशका भूमि व्यवस्था, कृषि सहकारी तथा गरिबी निवारण मन्त्री विनिता चौधरीले ग्रामीण क्षेत्रमा रहेका सानो सानो पुँजीलाई संकलन गरेर समुदायको आर्थिक उन्नतीमा उपयोग गर्न सहकारी संस्थाहरूले अहम् भूमिका निर्वाह गरिरहेको बताएकी छन् ।
शनिबार कैलालीको बर्दगोरिया गाउँपालिकामा रहेको साना किसान कृषि सहकारी संस्थाको १३ औं वार्षिक साधारण सभाको उद्घाटन गर्दै मन्त्री चौधरीले सरकारले आर्थिक समृद्धिका लागि सहकारीलाई पनि प्रमुख आधार बनाएको चर्चा गरिन् ।
उनले प्रदेश सरकारले छिट्टै सहकारी ऐन ल्याउने बताइन् । मन्त्री चौधरीले नेपालमा अहिलेसम्म ३४ हजार पाँच सय १२ वटा सहकारी संस्था सञ्चालनमा रहेको बताइन् । उनले भनिन्– “ग्रामीण क्षेत्र तथा आर्थिक रूपमा विपन्न समुदायको आर्थिक अवस्था सुधार गर्न सहकारी संस्थाले महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेका छन् ।”
उनले प्रदेश सरकारले रोजगारी सिर्जना तथा गरिबी निवारणमा बल पुग्ने गरी सहकारी ऐन ल्याउने बताइन् । मन्त्री चौधरीले सेयर सदस्यहरूमा उद्यमशीलता अभिबृद्धि तथा व्यावसायिक कृषिको विकासका लागि पनि सहकारी संस्थाहरूले ठोस कार्यक्रम सञ्चालन गर्न आग्रह गरिन् ।
यसअघि मन्त्री चौधरीले साना किसान सहकारी संस्थाको मसुरो संकलन, प्रशोधन तथा बजारीकरण केन्द्र भवनको उद्घाटन गरेकी थिइन् ।
साधारण सभामा जिल्ला समन्वय समिति कैलालीका प्रमुख सूर्यबहादुर थापाले कृषिको व्यवसायीकरण, यान्त्रीकरण तथा औद्योगीकरणको अभावमा बाहिरबाट खाद्यान्न आयात गरिरहनु परेको चर्चा गरे ।
साधारण सभा सहकारी संस्थाका अध्यक्ष पदमराज रिजालको अध्यक्षतामा भएको थियो । उद्घाटन कार्यक्रममा नेकपाका नेता जगत साउँद, नेपाली काँग्रेस बर्दगोरिया गाउँसमिति सभापति गणेश शाही, जनमोर्चा नेपालका नेता रूपा आलेमगर, बर्दगोरिया गाउँपालिका वडा नम्बर १ का अध्यक्ष जयरूप खतिवडा, साना किसान कृषि सहकारी संघका प्रदेश उपसंयोजक गोमा आचार्य र शान्ति सामुदायिक वनका अध्यक्ष नविन जोशीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
साधारण सभामा गत आर्थिक वर्ष २०७४/०७५ को तीन करोड पाँच लाख रुपैयाँको आयव्यय विवरण प्रस्तुत गरिएको थियो ।
संस्थाका उपाध्यक्ष पूर्ण विष्टले स्वागत गरेको उद्घाटन कार्यक्रमको सञ्चालन संस्थाका सदस्य राकेश हमाल र सल्लाहकार संयोजक बलराज भाटले गरेका थिए ।




