छाउगोठ भत्काउन महिला अग्रसर
लम्की । कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर ६, चैनपुरका महिलाहरू छाउपडी गोठ भत्काउन अग्रसर भएका छन् ।
महिला जागरण केन्द्र, नेपाल नामक संस्थाको अगुवाईमा महिलाहरूले छाउगोठ भत्काउन शुरु गरेको स्थानीय सिर्जना विकले बताइन् ।
गत मंगलबार चैनपुरमा भएको एउटा कार्यक्रममा लम्कीचुहा नगरपालिका प्रमुख महादेव बजगाईले छाउगोठ भत्काउने व्यक्तिलाई पुरस्कार र सम्मान गर्ने घोषणा गरेका थिए । सिर्जनाले आफ्ना सासु, ससुरा र श्रीमानको सहयोगमा आफ्नो घरमा रहेको छाउगोठ भत्काएको बताइन् । उनले भनिन्– “यो गाउँका धेरै महिला मेरै घरमा बनेको छाउगोठमा बस्दै आएका थिए ।”
सिर्जनाका ४३ वर्षीया सासु धनसराका अनुसार आफ्नी बुहारीले पहिलेदेखि नै छाउगोठमा बस्नु नहुने बताउँदै आएकी थिइन् । “हामीले त्यतिबेला बुहारीको कुरा सुनेनौं, अहिले मेयरसहित सबैले छाउगोठमा बस्नु अपराध हुने बताएपछि भत्कायौं” उनले भनिन् ।
सिर्जनाकी छिमेकी संगीताले पनि महिनावारी भएको बेला आफू पनि सिर्जनाको घरको छाउगोठमा बस्ने गरेको बताइन् । “हामीले सल्लाह गरेर गोठ भत्काएको हौं” संगिताले अबदेखि महिनावारी भएको बेला आफू पनि आफ्नै घरमा बस्ने दृढता व्यक्त गरिन् । संगीताका श्रीमान वैदेशिक रोजगारीमा रहेका छन् । त्यस्तै, अर्की छिमेकी २७ वर्षीया चन्द्रा विकले पनि अबदेखि आफू पनि छाउगोठमा नबस्ने बताइन् ।
महिला जागरण केन्द्र नेपालकी अध्यक्ष बिस्नाकुमारी बिसीले दुई वर्षदेखि ६० वटा छाउगोठ भत्काइसकेको जानकारी दिइन् । अध्यक्ष बिस्नाले भनिन्– “यो गाउँमा छाउगोठ भत्काउने पहिलो महिला पद्मा विक हुन् ।”
अध्यक्ष बिसीले छाउपडी प्रथाको पूर्ण अन्त्यका लागि अझैं व्यापक जनचेतनामूलक अभियान सञ्चालन गर्नुपर्ने बताइन् ।