श्रीमान् बितेपछि उपचारमा बाधा
धनगढी । सेती अञ्चल अस्पतालको दोस्रो तलामा रहेको अर्थोपेडिक वार्डको वेड नम्बर ३० मा ४० वर्षीया पार्वती दमाई सुतिरहेकी थिइन् । उनी १२ दिनदेखि सेती अञ्चल अस्पतालमा उपचाररत छिन् । बैतडीको पाटन नगरपालिका वडा नम्बर ५ मा घर भएकी पार्वतीको घाँस काट्ने क्रममा रुखबाट लडेर खुट्टा नचल्ने भएको थियो ।“घाँस काट्दा रुखबाट लडे । खुट्टा नचल्ने भएको छ । श्रीमानले अस्पताल ल्याइ दिएका थिए” उनले विगत सम्झिइन् । अनुमोदन दैनिक टीम उनी भर्ना भएको बेडमा जाँदा उनको आँखामा आँशु थियो । एकातिर आफ्नो खुट्टा नचल्दा समस्या झेलिरहेकी उनी मंगलबारनै आफूलाई कुरिरहेका श्रीमानको मृत्युको खबरले स्तब्ध थिइन् । उनका ४२ वर्षीय श्रीमान धनी दमाईलाई लामो समयदेखि रोगले सताएको भएपनि उपचार नगर्दा मृत्यु व्यहोर्नु परेको थियो ।
“मेरो खुट्टा रुखले गर्दा नचल्ने भयो । खुट्टाको उपचार गराउँन आएकी मैले अस्पतालमै श्रीमान गुमाउनुपर्यो” भक्कानिएर रुदै उनले भनिन्, “म पनि श्रीमानसँगै जान चाहन्छु ।”
“अचानक धनीले पेट दुख्यो भन्न थाल्नुभयो । हामीले चेकजाँच गराउन आग्रह गरेका थियौं” उनको उपचारमा संलग्न अस्पतालका डाक्टर सुरेन्द्र बस्नेतले भने, “रोग के हो पत्ता लाग्न सकेको थिएन् ।” उनका अनुसार धनीलाई सेतीमा सोमबार दिउँसो भर्ना गरिएको थियो । ७:३० बजेतिर अप्रेसनको तयारी गरिएको थियो ।
डाक्टर बस्नेतका अनुसार धनीको उच्च रक्तचाप रहेकाले सो समयमा अप्रेसन गर्न नसकिएको बताउँदै ‘बिरामीले छोरा आउन लागेकाले बिहानसम्म कुर्न हामीलाई आग्रह गरेका थिए ।’ बिरामी धनीको मंगलबार बिहान साढे ३ बजे अस्पतालमै मृत्यु भएको थियो । डाक्टर बस्नेतले उनको आन्द्रा बेरिएको वा पेटभित्रको कुनै अंगमा असर भएको हुन सक्ने बताए । डाक्टर बस्नेतले बिरामीलाई यो समस्या लामो समयदेखि भएको हुन सक्ने बताए । “यो समस्या एक्कासी भएको भने होइन । पहिलेदेखिनै भएको हुन सक्छ” उनले भने ।
अस्पतालमा भर्ना भएकी पार्वतीको उपचारका लागि अहिलेसम्म श्रीमानले खर्च गरेका थिए । श्रीमान गुमाएपछि कसरी उपचार गर्ने भन्ने चिन्ताले सत्ताएको बताइन् । सेती अञ्चल अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डाक्टर हेमराज पाण्डेले भने, “पार्वतीको सबै उपचार अस्पतालले नि:शुल्क गर्ने छ ।” पार्वतीको खुट्टामा रड राख्नुपर्ने देखिएको जनाइएको छ । अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट पाण्डेले सामाजिक सुरक्षा इकाइमार्फत उनलाई आवश्यक औषधि, उपचार सामग्रीहरू व्यहोर्ने बताए । अहिले पार्वतीसँग उनकी सानी छोरी र भान्जी कुरुवा रहेका छन् ।