२२ आश्विन २०८१, मंगलवार

टीकापुर घटनाको सुनुवाइ हुन सकेन



धनगढी । टीकापुर घटनासम्बन्धी मुद्दाको सोमबार सर्वोच्च अदालतमा सुनुवाइ हुन सकेन । कर्तव्य ज्यान, डाँका, चोरी तथा ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दामा दीपकराज जोशी र सपना प्रधान मल्लको संयुक्त इजलासले स्थगित गरेको जनाइएको छ ।
गत साउन ३१ गते यो मुद्दामा अनिलकुमार सिन्हा र प्रकाशसिंह राउतको संयुक्त इजलासले मिसिल झिकाउने आदेश दिएको थियो । अधिवक्ता गजेन्द्र केसीका अनुसार अर्को सोमबार सो मुद्दाको सुनुवाइ हुने जनाइएको छ ।
कैलालीको टीकापुरमा ७ भदौ २०७२ मा एक नाबालकसहित सात प्रहरीको हत्या भएको यो मुद्दामा सांसद रेशमलाल चौधरीसहित २६ जनालाई विपक्षी बनाइएको छ ।
मानबहादुर बोहराको जाहेरीमा दर्ता भएको मुद्दाका अभियुक्तहरू सांसद चौधरी डिल्लीबाजरस्थित सदरखोरमा बन्दी जीवन बिताइरहेका छन् ।
त्यसैगरी, आरोपी लक्ष्मण थारूसहित २३ जना जिल्ला कारागार कैलालीमा छन् भने दुई नाबालकहरू पोखरास्थित बाल सुधार गृहमा छन् ।
ज्यान मुद्दा लागेकै कारण राजपा सांसद रेशमलाल चौधरीले अहिलेसम्म सपथ ग्रहणसमेत गर्न पाएका छैनन् ।
राजपाले भने कैलाली घटनालाई राजनीतिकरूपमा हेरिनुपर्ने भन्दै सांसद चौधरीलगायत आरोपीहरूलाई रिहा गर्न माग गर्दै आएको छ । तर, यो मुद्दा अदालतमा विचाराधिन रहेकाले सांसद चौधरीलाई सपथग्रहण गराउन सक्ने अवस्था नरहेको सरकारी पक्षको तर्क रहेको राजपा नेताहरू बताउँछन् ।
यता, थारू कल्याणकारिणी सभा कैलालीले टीकापुर घटना गराएको अभियोगमा पुर्पक्षका लागि थुनामा राखिएको घटनालाई लिएर दुई महिने संघर्षको कार्यक्रमम घोषणा गरेको थियो ।
कैलालीका १० वटा स्थानीय तहमा यस विषयमा छलफल तथा अन्तरक्रिया कार्यक्रम अन्तर्गत अहिलेसम्म टीकापुर नगरपालिका र जानकी गाउँपालिकामा छलफल गरिसकेको र आज (मंगलबार) भजनी नगरपालिकामा छलफल कार्यक्रम रहेको सभाका प्रवक्ता माधव थारूले बताए । उनले पुस २८ गतेसम्म छलफल कार्यक्रम जारी रहने बताए । उनले सरकार र अदालतले घटनाको सुनुवाई विभिन्न बहानामा पछि सार्दै निर्दोषमाथि अन्याय गरिरहेको आरोप लगाए । उनले टीकापुरबाट शुरु भएको अन्तरक्रिया टीकापुरमै बृहत सभासहित सम्पन्न गरिने बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार