२८ मंसिर २०८२, आईतवार

नविकरणीय ऊर्जाको प्रयोग बढ्दो



धनगढी । पछिल्ला वर्षहरूमा सुदूरपश्चिम प्रदेशमा वैकल्पिक तथा नविकरणीय ऊर्जाको प्रयोग बढ्दै गएको छ । नेपाल सरकारको वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रका अनुसार सुदूरपश्चिममा सौर्य ऊर्जा, गोबर ग्यास तथा सुधारिएको चुलो सहित वैकल्पिक तथा नविकरणीय ऊर्जाको प्रयोगमा बृद्धि भएको छ ।
वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रका अनुसार सन् १९९६ मा सुदूरपश्चिम प्रदेशमा नविकरणीय उर्जाको प्रयोग गर्ने जनसंख्या जम्मा सून्य दशमलव १५ प्रतिशत मात्र रहेकोमा सन् २०१८ मा प्रयोगकर्ताको संख्या तीन दशमलव तीन प्रतिशत पुगेको छ ।
पछिल्लो तथ्यांकअनुसार सुदूरपश्चिम प्रदेशमा ९७ हजार पाँच सय ८४ परिवारले सोलार प्लान्ट जडान गरी सौर्य ऊर्जा प्रयोग गरिरहेका छन् । त्यस्तै, ४० हजार सात सय छ परिवारले गोवर ग्यास प्लान्ट जडान गरेका छन् । भने एक लाख १५ हजार एक सय ७३ परिवारले सुधारिएको चुलो प्रयोग गरिरहेका छन् ।
यसैबीच, सुदूरपश्चिम प्रदेशमा वैकल्पिक उर्जा प्रयोगमा बृद्धि ल्याउन प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय र केन्द्रबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । सम्झौता अनुसार केन्द्रले मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बायो ग्यास पाइपलाईन जडान गर्ने र भौतिक पूर्वाधार विकास मन्त्रालयमा सोलार प्रविधि जडान गर्ने केन्द्रका कायम मुकायम कार्यकारी निर्देशक नवराज ढकालले जनाए ।
हस्ताक्षरित ग्रामीण क्षेत्रका लागि नविकरणीय ऊर्जा कार्यक्रमले प्रदेश सरकारलाई नमुना नविकरणीय उर्जा नीति तथा कार्यक्रम कार्यान्वयन कार्यविधि, प्रादेशिक ऊर्जा प्रोफाइल, भौतिक पूर्वाधार विकास मन्त्रालयले प्राथमिकता तोकेका नविकरणीय ऊर्जा सम्बन्धि आयोजनाहरू, सपोर्ट प्याकेजको कार्यान्वयन, प्रदेशलाई आवश्यक पर्ने नविकरणीय ऊर्जा सम्बन्धी कानून, नीति तथा कार्यविधि बनाउन प्राविधिक सहयोग गर्ने छ ।
केन्द्रका निर्देशक ढकालले प्रदेशमा केही नमुना आयोजनाहरू सञ्चालन गर्न पनि प्रदेश सरकारलाई सहयोग गर्ने बताए । समझदारी अनुसार रेराले प्रदेश सरकारलाई ४४।९ मेगावाटको ४८ वटा लघु तथा साना जलविद्युत निर्माण गर्न एक करोड ३७ लाख ४८ हजार, ३७ मेगावाटको ३७ वटा सौर्य प्लान्ट जडान गर्न ६१ लाख २६ हजार र १।१ मेगावाटको तीन वटा बायो ग्यास प्लान्ट जडान गर्न तीन लाख १७ हजार गरी दुई करोड दुई लाख २८ हजार रुपैयाँ रेरा कार्यक्रमले खर्च गर्ने छ ।
जर्मनको संघीय आर्थिक सहयोग तथा विकास मन्त्रालयको ५० करोड सहयोगमा सञ्चालित रेरा कार्यक्रमले २०७६ असोज १३ गतेभित्र यो आयोजनाहरू निर्माण गरिसक्ने छ ।
संघीय सरकारले पनि सुदूरपश्चिम प्रदेशमा नविकरणीय ऊर्जाको प्रबद्र्धन गर्नका लागि सशर्त दुई करोड ९० लाख रुपैयाँ विनियोजन गरेको निर्देशक ढकालले बताए । उनले लघु तथा साना जलविद्युतका निर्माण लागि ९० लाख, सौर्य ऊर्जा प्रविधि जडानका लागि एक करोड, वायो ग्यास जडानका लागि २५ लाख, सुधारिएको चुलो (बायुमास) प्रविधि जडानका लागि २५ लाख, ऊर्जाको उत्पादनमूलक परिप्रयोगको लागि २० लाख र नविकारणीय ऊर्जा सम्बन्धी प्राशासनिक तथा व्यवस्थापन खर्चका लागि ३० लाख विनियोजन गरेको जनाए ।
नविकरणीय ऊर्जाको स्रोतबाट ५५ मेगावाट भन्दा बढी विद्युत उत्पादन गरी देशका विभिन्न स्थानमा वितरण गरेको केन्द्रका वरिष्ठ अधिकृत मुकेश घिमिरेले बताए । “३६ लाख भन्दा बढी घरधुरी नवीकरणीय ऊर्जाबाट लाभान्वित छन्,” उनले भने, “लघु तथा साना जलविद्युत र सौर्य विद्युतको माध्यमबाट देशका १८ प्रतिशत जनतामा विद्युतको पहुँच पुगेको छ । करिब ३० हजार रोजगारी सिर्जना भएको छ ।”
घिमिरेका अनुसार देशभर चार लाख चार ३२ वटा वायोग्यास प्लान्ट जडान गरिएको जसले दुई सय ६६ दशमलव ३४ मेगावाट बराबर ऊर्जा दिइरहेका छन् । २२ सय वटा लघु तथा साना जलविद्युत मार्फत् २९ हजार चार सय ५७ किलोवाट विद्युत उत्पादन भइरहेका छन् । ति लघु तथा साना जलविद्युतहरू राष्ट्रिय प्रशारण लाईनमा जडान नभई स्थानीय रूपमा प्रयोग भइरहेको घिमिरेले बताए ।
देशमा सात लाख ९४ हजार दुई सय ७६ वटा सोलार प्लान्टबाट १९ हजार आठ सय ५६ किलोवाट विद्युत उत्पादन भएको छ । देशभर १३ लाख ४३ हजार दुई सय ४२ वटा सुधारिएको चुलो देशभर जडान भएका छन् भने ४१ हजार ९० वटा सुधारिएको फलामे चुलो प्रयोगमा छ । एक हजार ७ सय एक संस्थाले पनि सौर्यवत्ति प्रयोग गर्ने गरेका छन् । केन्द्रले सौर्य वायु मिनिग्रिड प्रणाली मार्फत् चार १३ किलोवाट विद्युत उत्पादन गरिसकेको छ । देशमा दुई हजार साना तथा मझौला उद्योगहरू नविकरणीय ऊर्जाबाट सञ्चालन भइरहेको घिमिरेले बताए ।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार