१४ कार्तिक २०८१, बुधबार

संघीयतामा स्थानीय शासन कार्यशाला : सबैको सामुहिक प्रयोगको उपलब्धि हो, संघीयता– मन्त्री शाह



धनगढी । स्थानीय शासन तथा परिवर्तित शासकीय संरचनाका विविध पक्षमा प्रभावकारी रिपोर्टिङमा बल पुर्‍याउने उद्देश्यले आइतबारदेखि धनगढीमा ‘संघीयतामा स्थानीय शासन’ विषयक पत्रकारका लागि अभिमुखीकरण तथा कार्यशाला शुरु भएको छ ।
कैलाली, कञ्चनपुर, डोटी तथा डडेल्धुराका ३४ जना पत्रकारहरूको सहभागिता रहेको कार्यशाला भोलि (सोमबार) सम्म सञ्चालन हुने जनाइएको छ । कार्यशालाको सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाहले उद्घाटन गरे ।
“यो संघीयता हामी सबैको सामुहिक प्रयासबाट प्राप्त भएको हो” मन्त्री शाहले भने– “त्यसैले यसलाई संस्थागत तथा सफल बनाउने जिम्मेवारी पनि हामी सबैको हो ।”
मन्त्री शाहले जनताको सबैभन्दा नजिकको सरकार (स्थानीय तह) ले आम जनतालाई निष्पक्ष र इमान्दारिपूर्वक प्रभावकारी ढंगले सेवासुविधा पुर्‍याउन सकेन भने संघीयता नै असफल हुने चर्चा गरे । उनले भने– “कतिपय प्रसंगमा स्थानीय तहका जनप्रतिनिधिहरूमा दम्भ र अहंकार बढेको चर्चा चल्ने गरेको छ । एकै जनाले शक्ति र भूमिका केन्द्रीत गर्ने प्रवृत्ति देखिन थालेको जनगुनासो बढेका छन् । यस्ता प्रवृत्ति समयमैमा अन्त्य हुनु आवश्यक छ ।”
उनले संघीयता सफल बनाउन जगका रूपमा रहेका स्थानीय तह/सरकार बलियो र प्रभावकारी हुनुपर्ने चर्चा गरे । उनले तीनै तहका सरकारका पदाधिकारीलाई गलत बाटोमा जान नदिन मिडियाले निरन्तर खबरदारी गर्नुपर्ने बताए । “तर, अरूलाई सही बाटो देखाउने मिडिया स्वयंले बाटो बिरायो भने दुर्भाग्य हुनेछ” मन्त्री शाहले भने– “मिडियाले आफ्नो अधिकार र दायित्वको ठिक ढंगले निर्वाह गर्नु आवश्यक छ ।”
कार्यक्रममा सुदूरपश्चिम प्रदेश सभा सदस्य डिल्लीराज पन्तले स्थानीय तहका पदाधिकारीहरूमा आफैं नै सबै थोक हुँ भन्ने मानसिकता बृद्धि भइरहेको चर्चा गरे ।
प्रदेश सांसद पन्तले भने– “अहिले कतिपय स्थानीय तहमा डोजर मालिक र चालक, काठका व्यापारी आफैं प्राविधिक बनिरहेको पाइएको छ । र, स्थानीय तहका पदाधिकारीहरू पनि ‘डोजर विकास’ मा लठ्ठ भएको अवस्था छ ।”
उनले स्थानीय सहित तीनै तहका सरकारलाई सही बाटोमा डोर्‍याउन तथ्यसहितको प्रभावकारी रिपोर्टिङमा ध्यान दिन सञ्चारकर्मीहरूसँग आग्रह गरे ।

नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय अध्यक्ष धर्मेन्द्र झाले लोकतन्त्रलाई जनतामाझ पुर्‍याउने माध्यम संघीयता भएकाले यसको सफलता अनिवार्य भएको बताए । उनले भने– “विगतमा कुनै पनि कारणले पछाडि पारिएका क्षेत्र, वर्ग, लिंग, जातजातिका लागि संघीयता आवश्यक छ । त्यसैले सुदूरपश्चिम प्रदेशलाई संघीयता अझ बढी आवश्यक भएको हो ।”
कार्यक्रममा कैलाली बारका अध्यक्ष शिवबहादुर केसीले हरेक पेसाकर्मीमा पेसाप्रतिको निष्ठा, इमान्दारिता तथा व्यावसायिकता आवश्यक रहेको बताए । उनले भने– “स्थानीय तहलाई प्रभावकारी र सफल बनाउन सबैको उत्तिकै दायित्व र भूमिका रहेको छ ।”
नेपाल पत्रकार महासंघका पूर्व उपसभापति चित्रांग थापाले स्थानीय तहका पदाधिकारीमा नजानिदो ढंगले अहंकार बृद्धि भइरहेको चर्चा गरे । उनले भने– “कतिपय पदाधिकारीले भुईं छोडेको अवस्था छ । कामकारबाहीमा विकृति बढ्न थालेको देखिएको छ, तर मिडियाले यी सवालमा प्रभावकारी ढंगले ध्यान दिन सकेको पाइएको छैन ।”
सो अवसरमा नेपाल पत्रकार महासंघ, सुदूरपश्चिम प्रदेशका अध्यक्ष अर्जुन शाहले स्थानीय तहमा ठूलै विचलन आइनसकेको भए पनि अधिकार प्रयोग तथा स्रोत परिचालनमा विकृति देखिन थालेको चर्चा गरे । उनले भने– “यस सन्दर्भमा मिडियो भूमिका पनि सन्तोषजनक देखिएको छैन ।”
नेपाल पत्रकार महासंघ, कैलालीका अध्यक्ष जगत साउँदले पत्रकारितामा आत्मकेन्द्रीत मानसिकता बृद्धि भएको बताए । उनले सञ्चार माध्यम तथा सञ्चारकर्मीको संख्यामा लगातार बृद्धि आए पनि विकृति पनि बढिरहेको चर्चा गरे ।
सञ्चार प्रतिष्ठान नेपाल, कैलालीको आयोजनामा सञ्चालित कार्यशाला उद्घाटन कार्यक्रम संस्थाका अध्यक्ष प्रकाशबिक्रम शाहको अध्यक्षतामा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार