१४ पुष २०८२, सोमबार

प्रदेश पूर्वाधार विकास कार्यक्रम निर्देशिका स्वीकृत



धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश पूर्वाधार विकास कार्यक्रम सञ्चालन निर्देशिका स्वीकृत गरेको छ । सुदूरपश्चिम प्रदेश मन्त्रीपरिषद्को बिहीबार बसेको बैठकले सो निर्देशिका स्वीकृत गरेको जनाइएको छ ।
प्रदेश सरकारद्वारा प्रस्तुत चालू आर्थिक वर्ष २०७५/०७६ को वार्षिक बजेटमा प्रदेश पूर्वाधार कार्यक्रम सञ्चालन गर्ने उल्लेख थियो । प्रदेश सरकारले बजेटमार्फत पूर्वाधार विकास कार्यक्रम अन्तर्गत प्रदेशका प्रत्येक निर्वाचन क्षेत्रमा दुई करोड रुपैयाँ विनियोजन गरेको छ ।
सुदूरपश्चिम प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाशबहादुर शाहले निर्देशिका नबनेकोले प्रदेश सभा सदस्यले पूर्वाधार विकास कार्यक्रमको बजेट खर्च गर्न नसकेको बताए । उनले भने– “मन्त्रीपरिषद्बाट पूर्वाधार विकास कार्यक्रम निर्देशिका स्वीकृति भएसँगै अब प्रदेश सभा सदस्यहरूले आफ्नो निर्वाचन क्षेत्रमा दुई करोड रुपैयाँका योजना सञ्चालन गर्ने बाटो खुलेको छ ।”
निर्देशिका अनुसार प्रदेश सभाका प्रत्यक्ष निर्वाचित सदस्य संयोजक रहने गरी सम्बन्धित निर्वाचन क्षेत्रका प्रतिनिधि सभा सदस्य र स्थानीय तहमध्येको प्रशासकीय अधिकृत सदस्य रहेको समितिले छनौट तथा अनुगमन गर्ने गरी ती कार्यक्रम सञ्चालन गरिने छन् । निर्देशिकामा न्यूनतम १५ लाख रुपैयाँभन्दा कम बजेटको कार्यक्रम सञ्चालन नगरिने उल्लेख छ ।

प्रत्येक बुधबार मन्त्रीपरिषद बैठक
त्यस्तै, अबदेखि प्रत्येक हप्ताको बुधबार मन्त्रीपरिषद बैठक गर्ने निर्णय गरिएको छ । सरकारका प्रवक्ता शाहले प्रदेश सरकारका काम कारवाहीको समीक्षासँगै विकास आयोजना प्रभावकारी बनाउन हरेक बुधबार बैठक बस्ने निर्णय गरिएको बताए ।
उनले प्रदेशको समृद्धि र विकासका लागि प्रदेश सरकार कटिवद्ध रहेको बताए । उनले भने– “अहिले प्रदेशका केही विकास आयोजनाहरू प्रभावकारी रूपमा अघि बढन सकेका छैनन् । सरकारले हरेक मन्त्रालयका कार्यक्रमको कार्यान्वयनका अवस्थाबारे नियमित समीक्षा गर्ने छ ।”
त्यस्तै, मन्त्रीपरिषद बैठकले कृषि आयआर्जन तथा उत्पादनमूलक कार्यका लागि सहकारीलाई अनुदान दिने सम्बन्धी कार्यविधि पनि स्वीकृत गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार