जाखोर तालको जलकुम्भी हटाइदै
धनगढी । धनगढी उपमहानगरपालिका–७, को पर्यटकीय जखोर तालको जलकुम्भी हटाउन थालिएको छ ।
धनगढी उपमहानगरपालिकाले नेपाली सेना र सशस्त्र प्रहरीको सहायतामा शनिबारबाट जलकुम्भी फाल्न थालेको हो । धनगढी उपमहानगरपालिकाकी उपमेगर सुशीला मिश्र भट्टले जलकुम्भी हटाउन सोचे जति सजिलो नभएपनि एक दुई महिना लगाएर भएपनि हटाइने बताइन् ।
जलकुम्भी हटाउनका लागि उपमहानरपालिकाका सरसफाई कर्मचारी, नेपाली सेना र सशस्त्र प्रहरीको टाली खटिएको छ । तालबाट निस्केको जलकुम्भी तालसँगै जोडिएको मैदानमा फालिदै छ ।
जलकुम्भी हटाएर ताल सफा गरी पर्यटकहरूका लागि ढुंगा खेल्ने व्यवस्था गरिने उपमेयर भट्टले बताइन् । उनले जाखोर तालको व्यवस्थापनका लागि गुरुयोजना बनाउने काम समेत अन्तिम चरणमा पुगिसकेको जानकारी दिइन् । तालको वरिपरी हिड्ने बाटो, तालमा ढुंगा खेल्न जाने स्टेप, तालको छेउमा रहेको मन्दिरमा पानीको फोहरा सहितको मूर्ति, पिकनिक स्पोट लगायतको संरचना निर्माण गर्ने गरी गुरुयोजना तयार भइरको उनले बताइन् ।
जिल्ला वनस्पति कार्यालय कैलालीले माछापालनमा रोक लगाएसँगै धनगढी उपमहानगरपालिकाले जलकुम्भी हटाउने निर्णय गरेको थियो ।
जाखोर ताल धनगढीको प्रमुख पर्यटकीय स्थलका रूपमा चिनिएको छ । वडा नम्बर ७ का अध्यक्ष सीताराम रानाका अनुसार साविक धनगढी नगरपालिकाले २०५४ सालमा सो ताल क्षेत्रको स्वामित्व जिल्ला वनस्पति कार्यालयलाई हस्तान्तरण गरेको थियो ।
धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडले जलकुम्भी भरिएका कारण ताल निकै कुरूप बनेको बताए । जाखोरतालको क्षेत्रफल करिब १२ हेक्टर छ ।
धनगढीका वासिन्दाहरूले जाखोर तालमा पिकनिक मनाउँदै आएका छन् । हिउँसको महिनामा हरेक शनिबार जाखोर तालमा पिकनिक खाने समूहहरूको घुइँचो लाग्ने गरेको छ । यस शनिबार पनि उपमहानगरपालिकाले तालभित्र जलकुम्भी हटाइरहेको थियो भने नागरिकहरूले तालको किनारमा स्थानीयहरू ठूलो स्वारमा डिजे लगाएर पिकनिक मनाइरहेका थिए ।




