२ माघ २०८१, बुधबार

वृहत कार्यशाला गोष्ठी



बझाङ । मानव विकास सुचकांकमा ७४ औं स्थानमा रहेको बझाङ जिल्लाको आर्थिक, सामाजिक तथा भौतिक पूर्वाधार विकासका लागि जनप्रतिनिधि तथा अन्य सरोकारवालाहरूको सहभागितामा आइतबार सदरमुकाम चैनपुरमा वृहत कार्यशाला गोष्ठी भएको छ ।
जिल्लाको विकास निर्माण सम्बन्धी दुई चरणमा गरिने गोष्ठीमा प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य तथा जिल्लाको निर्वाचन क्षेत्र (क) अन्तर्गत रहेका एक नगरपालिका र छ वटा गाउँपालिकाका प्रमुख/उपप्रमुख, अध्यक्ष/उपाध्यक्ष, तथा वडा अध्यक्षहरू र शिक्षक, कर्मचारी, बुद्धिजीवी, समाजसेवीहरूको सहभागिता रहेको थियो ।
गोष्ठीमा बझाङ जिल्लाको समग्र विकासमा प्रदेश सरकारले पाँच वर्षभित्र गर्न सक्ने काम र जिम्मेवारीबारे पनि छलफल भएको जिल्ला समन्वय समिति प्रमुख खड्क खड्काले जानकारी दिए ।
गोष्ठीमा भौतिक विकास निर्माण, वन तथा वातावरण, शिक्षा, स्वास्थ्य, खेलकुद, उद्योग, व्यवसाय, युवा स्वरोजगार लगायतका क्षेत्रमा नीतिगत निर्णयका लागि समूहगत छलफल गरी योजनाहरूको प्राथमिकता निर्धारण गरिएको छ ।
गोष्ठीमा चैनपुर–ताक्लाकोट सडक निर्माण, बझाङ विमानस्थल पुन: सञ्चालन, अपर सेती जलविद्युत आयोजना निर्माण, खप्तड करिडोरमा केबुलकार निर्माण, उरै नाका सञ्चालन, धार्मिक तथा पर्यटकीय स्थलहरूको संरक्षण तथा संवद्र्धन लगायतका क्षेत्रबारे व्यापक छलफल भएको थियो ।
गोष्ठीमा प्रतिनिधि सभा सदस्य भैरवबहादुर सिंह, प्रकाश रसाईली र आशा विक, सुदूरपश्चिम प्रदेश सभा सभामुख अर्जुनबहादुर थापा तथा प्रदेश सभा सदस्यहरू देवकी मल्ल, शान्ति नेपाली र माया तामाङ, पूर्व सभासद् चन्दादेवी जोशी र अफीलाल ओखेडा लगायतको सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार