१० श्रावण २०८१, बिहीबार

विहेभोजमा दलित र गैरदलितको छुट्टाछुट्टै भान्सा भएपछि…



लम्की । कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर ६, बावनपुरमा दलित र गैरदलित समुदायका लागि छुट्टाछुट्टै भान्साको व्यवस्था गरेपछि दलित अगुवाहरूले विवाह बहिस्कार गरेका छन् । बावनपुरका २० वर्षीय बजिर विकको विवाहमा दलित र गैरदलितका लागि छुट्टाछुट्टै भान्साको व्यवस्था गरिएको थियो । दलित अगुवाहरूले जातीय विभेदलाई प्रोत्साहन गर्ने खालको कार्य भएको भन्दै विवाह बहिस्कार गरे ।
संयुक्त दलित सशक्तिकरण समाजका अध्यक्ष ढकबहादुर विकले दलित तथा गैरदलित समुदायका लागि अलग अलग भान्सा बनाउने र गराउने दुबैपक्षले कानून विपरितको काम गरेको बताए । उनले भने– “विवाहमा एउटै भान्सा बनाउने सल्लाह भएको थियो । शुक्रबार बिहान विवाहमा सहयोग गर्न जाँदा दलित र गैरदलितको अलग अलग भान्सा देखेपछि पीडा भयो । यो समाजमा जातीय छुवाछूत यथावत रहेको प्रमाणित भयो । विभेदविरुद्ध वकालत गर्ने हामी दलित अगुवाहरूले विभेद सहने कुरै भएन, त्यसैले विवाह बहिस्कार गरेका हौं ।”
दुलहाका बुवा गगन विकले गैरदलितहरू पनि रत्यौरी खेल्न आएकाले उनीहरूका लागि अलग भान्सा बनाउनुपर्ने बाध्यता भएको बताए । उनले भने– “एकै समाजमा मिलेर बसेका छौं । समाज बदलिएको छैन । दलितले छोएको नखाने भएपछि अलग भान्सा बनाउनु परेको हो । पुरानो चलन कसैले छोड्न सकेका छैनन् ।”
विवाहको निम्तो पाएर गएका तुलबहादुर विकले थाहै नपाई गैरदलितको भान्सा नजिक जाँदा एकजना गैरदलितले तिम्रो भान्सा अलग छ, भनेपछि सार्वजनिक ठाउँमा विभेद भएको बताए ।
“नयाँ पुस्ताका युवाहरूमा जातीय विभेद छैन । पुराना पुस्ताका लागि छुट्टै भान्सा बनाइएको होला” रूपा ऐडीले भनिन्– “छुट्टै भान्सा बनाउनु राम्रो होइन् ।”
विवाहमा दलित र गैरदलितको छुट्टाछुट्टै भान्सा भएकोमा सचेत दलित अगुवाले विवाह बहिस्कार गरी कानूनको सम्मान गरेको दलित अगुवा रती विकको धारणा छ । चम्किलोतारा आभारभूत विद्यालय, बावनपुरका प्रधानाध्यापक बलबहादुर रावतले आफूलाई पनि विवाहको निम्तो आएको बताए । रावतले भने– “विवाहमा जाँदा फरक फरक भान्सा देखियो । यो गलत काम हो ।”

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार