३ जेष्ठ २०८१, बिहीबार

‘अत्तरियाको होटलका भान्सा अत्यन्त फोहोर’



धनगढी । कैलालीको अत्तरिया बजारका होटल, रेष्टुरेन्ट, मिठाई पसल, मासु पसलको उत्पादन स्थल अत्यन्तै फोहोर भेटिएका छन् ।
गोदावरी नगरपालिका र खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालय धनगढीले गरेको चाडपर्व लक्षित अनुगमनमा होटल, रेष्टुरेन्ट, मिठाई पसलको भान्सा र मासु पसलको बधशाला अत्यन्त फोहोर भेटिएको हो । अत्तरियाको प्रहरी र अत्तरिया उद्योग वाणिज्य संघ सहितको टोलीले अत्तरिया बजारमा मेनलाईनमा असोज २२ देखि २५ गतेसम्म अनुगमन गरेको थियो ।
टोलीले शुक्रबार एक विज्ञप्ति प्रकाशित गरी अनुगमन क्रममा उत्पादन स्थल अत्यन्तै फोहोर र अव्यबस्थित रहेको पाइएको जनाएको छ । प्राय होटेल, सेकुवा सेन्टर तथा रेस्टुरेन्टका भन्सा खुल्ला वातावरणमा सञ्चालन रहेकाले भौतिक, रासायनिक र जैविक खतरा देखिएको खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालय धनगढीका खाद्य अनुसन्धान अधिकृत उज्वल कोइरालाले बताए । उनले अनुगमनमा फोहोर र अव्यबस्थित पाइएका होटेल तथा रेस्टुरेन्ट, मिठाई पसल, मासु पसललाई खाद्य स्वच्छता कायम गरी व्यबसाय सञ्चालन गर्न निर्देशन दिइएको बताए ।
अनुगमनको क्रममा म्याद सकिएका र न्युन गुणस्तर भएको हल्का पेय पदार्थ फ्याट स्प्रेड, कम्पेलन, नरिवल धुलो, सुजि, मसला, चना, मकै आदि नष्ट तथा जफत गरिएको छ । आनुगमन टोलीले अत्तरियाका २४ वटा किराना तथा हल्का पेय पदार्थ बिक्री केन्द्र, ३६ वटा होटेल रेस्टुरेन्ट तथा मिस्ठान्न पसल र १४ वटा मासु पसल गरी जम्मा ७४ ठाउँमा अनुगमन गरेको छ ।
बारम्बार खाद्य ऐन तथा नियमावली विपरित कार्य गर्ने र निर्देशन पालना नगर्ने व्यवसायीलाई मुद्दा हाली कानुनी दायरामा ल्याइने अनुगमन टोलीका सदस्य खाद्य प्राबिधिक कुमार भण्डारीले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार