१० श्रावण २०८१, बिहीबार

शुभकामना आदानप्रदान



धनगढी । अखिल नेपाल महिला संघ र अखिल नेपाल महिला संघ क्रान्तिकारीको संयुक्त आयोजनामा आइतबार धनगढीमा दशैं, तिहार तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम भएको छ ।
संगठनमा सम्पूर्ण महिलाहरुको सामूहिक एकता, महिला अधिकार प्राप्ति र महिला हिंसा विरुद्धको हाम्रो प्रतिवद्धता भन्ने मुल नारा सहित शुभकामना आदान प्रदान भएको हो । कार्यक्रमका प्रमुख अतिथि अखिल नेपाल महिला संघकी केन्द्रीय उपाध्यक्ष तथा नेकपाका केन्द्रीय सदस्य रुपा चौधरीले अखिल नेपाल महिला संघका महिलाहरु अधिकारका लागि लड्न सक्छन भन्ने प्रमाणित भइसको बताइन् । उनले महेन्द्रनगरमा बलात्कार गरी हत्या गरिएकी निर्मला पन्तको हत्यारालाई कडा कारबाही गर्न सरकारसंग माग गरिन् ।
कार्यक्रमका विशिष्ट अतिथि नेकपाका नेता दिनेश सुवेदीले पार्टी एकता जिल्लामा पनि छिट्टै हुने बताए । उनले पार्टी एकतासंगै जनवर्गीय संगठनको पनि एकता हुने बताए ।
कार्यक्रममा संघ केन्द्रीय सदस्य तथा प्रतिनिधि सभाकी सदस्य कमला ओली, संघकी केन्द्रीय सन्तोष शर्मा, क्रान्तिकारीकी केन्द्रीय सदस्य विमला सिंह, प्रदेश सांसद सुशिला बुढाथोकी, जिल्ला समन्वय समितिकी उपप्रमुख सुन्दरी चौधरी, गोदावरी नगरपालिका उपप्रमुख रत्ना कठायत, घोडाघोडी नगरपालिका उपप्रमुख प्रेमकुमारी थापा, लम्कीचुहा नगरपालिका प्रमुख टीका थापा र बर्दगोरिया गाउँपालिका प्रमुख भगवति चौधरीले मन्तव्य व्यक्त गरेका थिए ।
अखिल नेपाल महिला संघकी जिल्ला अध्यक्ष गीता सोडारीको अध्यक्षतामा सम्पन्न कार्यक्रम सञ्चालन अखिल नेपाल महिला संघ क्रान्तिकारीकी जिल्ला अध्यक्ष सरु चौधरीले गरेकी थिइन् । कार्यक्रममा स्वागत मन्तव्य कोइली चौधरीले व्यक्त गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार