७ पुष २०८१, आईतवार

दोषि पत्ता लगाउने माग सहित बन्द



कञ्चनपुर । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्त हत्या घटनाका दोषिलाई पत्ता लगाउन सरकारले ढिलाई गरेको भन्दै मंगलबार नेपाल विद्यार्थी संघले कञ्चनपुर जिल्ला बन्द गरेको छ ।
घटनाको २ महिना भन्दा वढि समय वितिसक्दा समेत निर्मलाका हत्यारा कानूनी दायरामा नआएको र उच्च स्तरीय छानविन समितिले निर्मला बलात्कार पछि हत्या घटनाबारे तयार पारेको प्रतिवेदन समेत सरकारले सार्वजनिक नगरेकाले बन्द आव्हान गरेको नेविसंघ कञ्चनपुरले जनाएको छ ।
घटनाको सत्यतथ्य चाँडोभन्दा चाँडो बाहिर ल्याउन सरकारलाई दवाव मंगलबार कञ्चनपुर बन्द गरिएको नेपाल विद्यार्थी संघले जनाएको छ । छानबिन समितिले गृहमन्त्री रामबहादुर थापालाई प्रतिवेदन बुझाएको साता दिन बितिसक्दा समेत सार्वजनिक नगर्दा वास्तविक दोषिलाई बचाउने चलखेल भइरहेको नेविसंघको आरोप छ ।
बन्दका कारण मंगलबार बिहानै देखि जिल्लाका अधिकांश बजार, यातायात, कलकारखाना लगायत शैक्षिक संंस्था समेत बन्द भएका छन् । बन्दका कारण यातायात सुचारु हुन नसक्दा दशैका लागि भारतवाट घर फर्किरहेका हजारौं यात्रुहरू अलपत्र परेका छन् भने उनीहरू महेन्द्रनगर बसपार्कमै बस्न बाध्य भएका छन् ।
यसैबीच, आन्दोलनकारीहरूले मंगलबार कञ्चनपुर जिल्ला सरकारी वकिलको कार्यालयमा तोडफोड गरेका छन् ।
यसक्रममा आन्दोलनकारीले चार जना कर्मचारीमाथि हातपात समेत गरेको जिल्ला न्यायधिवक्ता खेमराज भट्टले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार