ताली पिट्ने कोही भएनन्
धनगढी । मंगलबार प्रदेश सभाको बैठकमा प्रदेशको राजधानी र नामांकनबारे सुझाव समितिको प्रतिवेदन प्रस्तुत हुने कार्यतालिका रहेको थियो । बैठकमा मुख्यमन्त्री, सभामुख, मन्त्रीहरू, उपसभामुख र सांसद सहितका ५० जना सांसद उपस्थित थिए । प्रदेश सभा सातमा ५३ जना सांसद रहेका छन् ।
दिउसो ३ बजे बैठक आरम्भ हुने भनिएकोमा तीन बजेर ३० मिनेटतिर मात्रै बैठक शुरु भयोे । विगतका बैठकमा मुस्किलले देखिने मुख्यमन्त्री मंगलबारको बैठक शुरु हुनु अघि नै संसदमा पुगेका थिए । प्रदेशका सबै छ जना मन्त्री पनि बैठकमा उपस्थित थिए । मंगलबारको संसद बैठकमा नेपाली कांग्रेसका सांसद दिव्यश्वरी शाह र टेकबहादुर रैका र तथा राजपाका सांसद मालामति राना उपस्थित थिएनन् ।
सभामुख आउने वित्तिकै परम्परा अनुसार राष्ट्रिय गानको धुन बजाइयो । मंगलबार प्रतिवेदन मात्रै पेश गरिने कार्यसूची थियो । त्यसैले शुरुमै सात नम्बर प्रदेशको नामाकंन र स्थायी राजधानी निर्धारण गर्न गठित विशेष सुझाव समितिका संयोजक तारा लामा तामाङलाई प्रतिवेदन पेश गर्न समय दिइयो ।
संयोजक लामाले २० मिनेट ३७ सेकेन्ड लगाएर ८ पेज लामो प्रतिवेदन बाचन गरे । उनले प्रदेशको नाम र राजधानी उपयुक्त ठाउ“मा राखिदै छ भन्ने सन्देश दिनका अनेकौ तर्क पेस गर्दै अन्तिम तिर मात्रै प्रदेशको नाम र राजधानी बारेको सुझाव दिए ।
सुझाव समितिमा सर्वसम्मत रूपमा तयार पारेको भनिएको प्रतिवेदन पेस गर्ने क्रममा राजधानी गोदावरीको तेघरी र प्रदेशको नाम सुदूरपश्चिम भनेर संयोजक लामाले वाचन गर्दा कोही पनि सांसदले ताली पिटेनन् । जबकी बैठकमा मुख्यमन्त्री, सभामुख, मन्त्रीहरू र उपसभामुख बाहेक संयोजक लामाले प्रतिनिधित्व गर्ने दल नेकपाकै ३० जना सांसद उपस्थित थिए । लामा नेकपाका प्रमुख सचेतक समेत हुन् । सर्वसम्मत रूपमा तयार पारिएको भनिएको प्रतिवेदनका पक्षमा का“गेसका उपस्थित नौ जनाले पनि ताली पिट्नु पर्ने थियो । का“ग्रेसबाट नेपाली का“ग्रेसका सांसद श्यामलाल रानाथारू समितिका सदस्य रहेका छन् ।
प्रदेश सभा बैठक सकिएपछि बाहिरिने क्रममा भने गोदावरी नगरपालिकामै घर भएका कृष्णराज सुवेदी र चुनकुमारी चौधरीको अनुहारमा खुसी झल्किएको थियो । ताली किन बजेन त ? भन्ने प्रश्नमा कोही पनि सांसदले जवाफ दिन चाहेनन् ।