१० श्रावण २०८१, बिहीबार

व्यवहारिक र गुणस्तरीय शिक्षा आवश्यक: सभामुख थापा



धनगढी । प्रदेश सातका सभामुख अर्जुनबहादुर थापाले प्रदेश सातको समृद्धिका लागि व्यावसायिक र गुणस्तरीय शिक्षा आवश्यक रहेको बताएका छन् ।
बेष्टर्न इन्टरनेशनल विजनेश स्कूलले मंगलबार धनगढीमा आयोजना गरेको नवआगन्तुक विद्यार्थीहरूको स्वागत कार्यक्रममा सभामुख थापाले शैक्षिक संस्थाहरूले दक्ष जनशक्ति उत्पादनमा बढी ध्यान दिन आग्रह गरे ।
उनले शिक्षा क्षेत्रमा विद्यमान विकृतिको अन्त्य गर्दै विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्रदान गरी स्वरोजगारी सिर्जनामा ध्यान दिन समेत आग्रह गरे ।
कार्यक्रममा धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडले नेपालमा दक्ष जनशक्तिको कमी भइरहेको सन्दर्भमा शैक्षिक संस्थाहरूले अहिलेको आवश्यकता अनुसारको दक्ष जनशक्ति उत्पादन गर्ने खालका विषयको अध्यापनमा ध्यान दिनुपर्ने बताए ।
कार्यक्रममा कलेजका प्रबन्ध निर्देशक शैलेनद्र सिंहले नेपाली विद्यार्थीहरूले स्वदेशमै गुणस्तरीय, सस्तो र सुलभ शिक्षा पाउन सकुन् भन्ने उद्देश्यसहित बेष्टर्नले विश्वबजारमा सजिलै बिक्ने विषयमा पठनपाठनको व्यवस्था गरेको चर्चा गरे ।
प्रबन्ध निर्देशक सिंहले २०६९ सालमा धनगढीमा स्थापना भएको वेस्टर्न इन्टरनेशनल बिजनेश स्कुलले अमेरिकाको डेल्टा युनिभर्सिटीसंग सम्बन्धन प्राप्त गरी नेपालमा बीबीए र एमबीए कार्यक्रमहरू सञ्चालन गरिरहेको बताए ।
कार्यक्रममा पत्रकारहरू सुनिल आउजी, वीरेन्द्र रावल र हरिश विकलाई सम्मान गरियो । सो अवसरमा सभामुख थापाले पत्रकार आउजी, रावल र विकलाई दोसल्ला ओढाएर सम्मान गरे ।
कार्यक्रम कलेजका प्रबन्धक निर्देशक सिंहको अध्यक्षतामा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार