१० श्रावण २०८१, बिहीबार

पाँचजना विरुद्ध शान्ति विरुद्धको कसुर



अछाम । चालकहरूको आन्दोलनका क्रममा साँफेबगर नगरपालिका कार्यालय भवन र सवारी साधनहरू तोडफोड गर्ने पाँच जनालाई शान्ति विरुद्धको कसुरमा कारवाही गरिने भएको छ ।
नगरपालिका कार्यालयमा तोडफोडको आरोपमा पक्राउ परेका सुवास राजबाहक, गौरव स्वाँर, केशु विक, बान्नीगढी–जयगढ गाउँपालिकाका सन्तोष खड्का र डोटी जिल्लाको लक्ष्मीनगरका तिलक थापामगरलाई प्रहरीले शान्ति विरुद्धको कसुरमा कारवाही अघि बढाएको जनाइएको छ । प्रहरीले उनीहरूमाथि अनुसन्धान गर्न अदालतबाट ५ दिनको म्याद लिएको छ ।
उनीहरूमाथि सुरक्षाकर्मीलाई ढुंगामुढा, बोतल तथा रड प्रहार, इलाका प्रहरी कार्यालय घेराउ गरेको, अपशब्दसहित होहल्ला गरेको आरोप लगाइएको छ । प्रहरीले सो घटनामा संलग्न अन्य १५ जनाको खोजी भइरहेको जनाएको छ ।
बन्दकर्ताका मागकै विषयमा छलफल गर्न साँफेबगर नगरपालिकामा तयारी भइरहेका बेलामा एक समूहले नगरपालिका भवनसहित पार्किङमा राखिएका गाडी, डोजर, टिपर, र तीन वटा मोटरसाइकलमा तोडफोड गरेको बताइन्छ ।
त्यस क्रममा आक्रमणकारी र प्रहरीबीच झडपसमेत भएको थियो । झडपलाई नियन्त्रण लिन प्रहरीले एक राउण्ड हवाइ फायर र केही अश्रुग्यास समेत प्रहार गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार