१० श्रावण २०८१, बिहीबार

यातायात मजदूर र प्रहरीबीच झडप



अछाम । अछामको साँफेबगरमा यातायात मजदूर र प्रहरीबीच झडप हुँदा बिहीबार प्रहरीले हवाई फायर र अश्रुग्यास प्रहार गरेको छ । झडपमा एक जना यातायात मजदूर घाइते भएका छन् ।
आँखामा गम्भीर चोट लागेका अर्जुन कुँवरको थप उपचारका लागि बयालपाटा अस्पतालले धनगढी रेफर गरेको छ । स्थिति तनावग्रस्त भएपछि साँफेबगर बजार बन्द भएको छ । प्रहरीलाई ढुंगामुढा गरेपछि भीडलाई नियन्त्रणमा लिन एक राउण्ड हवाइ फायर र केही अश्रुग्यास प्रहार गरिएको अछाम प्रहरी प्रमुख डीएसपी जनकबहादुर शाहीले जानकारी दिए ।
सदरमुकाम मंगलसेनमा सार्वजनिक यातायात बन्द गराउँदै हिँडेका सात जना यातायात मजदूरहरूलाई प्रहरीले बिहीबार बिहान नियन्त्रणमा लिएको थियो । बन्दले सदरमुकाम मंगलसेन सहित जिल्लाभरको सवारी आगमन प्रभावित भएको छ । सवारी नचलेका कारण यात्रुहरू गन्तव्य सम्म पुग्न नपाउँदा अलपत्र परेका थिए ।
मुलुकमा जारी भएको नयाँ कानूनले चालकहरूलाई तेस्रो दर्जाको नागरिक जस्तो व्यवहार गरेको भन्दै चालकहरूले सवारी साधन चलाएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार