१० श्रावण २०८१, बिहीबार

चरेश सहित शिक्षिका र विद्यार्थी पक्राउ



बझाङ । ठूलो परिमाणमा लागू पदार्थ चरेशसहित सदरमुकाम चैनपुर आइरहेको अवस्थामा प्रहरीले एक शिक्षिका र एक जना विद्यार्थीलाई पक्राउ गरेको छ ।
बझाङको मस्टा गाउँपालिकाबाट चरेशसहित सदरमुकाम चैनपुर आइरहेको अवस्थामा बुधबार दिउसो प्रहरीले मष्टा गाउँपालिका वडा नम्बर १ का ३९ वर्षीया हस्ता पुरी र वडा नम्बर २ का १८ वर्षीय दीपक बोहरालाई पक्राउ गरेको जनाइएको छ । जिल्ला प्रहरी कार्यालय, बझाङका अनुसार पक्राउ परेकी हस्ता वडा नम्बर २ मा रहेको गौरीशंकर प्राविका शिक्षिका हुन् भने दीपक अर्को विद्यालयका विद्यार्थी हुन् ।

तस्बिर : ललित सिंह

गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय, मष्टाका प्रहरी सहायक निरीक्षकको नेतृत्वको टोलीले उनीहरूलाई बीच बाटोमा चरेशसहित पक्राउ गरेको थियो ।
बझाङका प्रहरी नायव उपरीक्षक (डिएसपी) प्रविन धितालका अनुसार प्रहरी गस्ती टोली देखेपछि उनीहरू भाग्न खोजेका थिए ।
पक्राउ परेका दुवै जनामाथि लागू औषध ओसारपसारसम्बन्धी मुद्दा चलाइने प्रहरीले जनाएको छ ।
बझाङका मस्टा, छबिसपाथीभेरा, केदारस्यु, दुर्गाथली तथा बित्थडचिर गाउँपालिका र बुंगल तथा जयपृथ्वी नगरपालिकाका विभिन्न स्थानमा ठूलो परिमाणमा गाँजा खेती हुने गरेको छ । यी ठाउँमा उत्पादित चरेश कैलाली, कञ्चनपुर तथा सीमावर्ती भारतका विभिन्न स्थानमा निकासी हुने गरेको छ । ग्रामीण् क्षेत्रमा प्रतिकेजी चरेशको मुल्य १० देखि १८ हजार रुपैयाँ रहेको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार