१० श्रावण २०८१, बिहीबार

बालकको विभत्स हत्या, मकैबारीमा भेटियो शव



बझाङ । बझाङमा एक बालकको विभत्स तरिकाले हत्या गरिएको अवस्थामा शव फेला परेको छ। जिल्लाको छबिस पाथीभेरा गाउँपालिका वडा नं ७ मजखोरीका महेश बोहराका ९ वर्षीय छोरा कुशलको शव फेला परेको हो।

‘मजखोरी मावि नजिकै मकैबारीमा शव फेला परेको हो,’ मृतकका काका किशोर बोहराले भने, ‘बुधबार स्कुलबाट फर्किएर घर नजिकै तीज कार्यक्रम हेर्न गएको थियो, पछि उसको शव मात्र भेटियो।’

स्थानीयका अनुसार बिहीबार दिउँसो कार्यक्रम हेर्ने क्रममा सोही वडा थारखोज निवासी धोज बोहराका छोरा पारसले कुशलसँग मोबाइल खोसेका थिए। साँझ ५ बजेसम्म पनि कार्यक्रमबाट घर नफर्केपछि सबै स्थानीय मिलेर उनको खोजी गरेका थिए। मृतकको शरीरमा ठूलाठूला ढुंगा राखेर छोपिएको र टाउकोमा चोट लागेको भेटिएको काका किशोरले बताए।

कुशलका आफन्तले भने स्थानीय धोज बोहराका छोरा पारसले हत्या गरेको आरोप गरेका छन्। घटनाको विस्तृत अनुसन्धानका लागि जिल्लाबाट प्रहरीको टोली घटनास्थल हिँडेको छ। हत्या गरिएका कुशल स्थानीय पाथीभेरे लिटिल स्टार बोर्डिङ स्कुलमा युकेजीमा अध्ययनरत थिए।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार