२ जेष्ठ २०८१, बुधबार

मदिरा निषेधका लागि छलफल



बझाङ । मदिराका कारण हत्या, महिला हिंसा, कुटपिट लगायतका घटनामा बृद्धि भएपछि जयपृथ्वी नगरपालिकाले मदिरा निषेधका लागि बिहीबार सरोकारवालाहरूसँग छलफल गरेको छ ।
छलफलमा नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष नरेन्द्र सिंहले मदिराका कारण जिल्लामा महिला हिंसा, कुटपिट, चोरी डकैति लगायतका अपराधका घटना बढिरहेकाले निषेध कार्यमा सहयोग गर्न आग्रह गरे ।
वडा नम्बर ५ का अध्यक्ष डम्मरबहादुर सिंहले मदिरालाई एकैचोटी निषेध गर्न सम्भावना नभएकाले नियन्त्रण गर्नुपर्ने बताए ।
गत १६ गतेको जिल्ला सभाको दोस्रो बैठकले बझाङ जिल्लालाई मदिरा निषेधित क्षेत्र घोषणा गर्ने निर्णय गरेपछि बझाङ उद्योग वाणिज्य संघले आन्दोलनको घोषणा गरेको छ ।
बिहिबार नगरपालिकाको कार्यालयमा आयोजना गरेको छलफलमा उद्योग वाणिज्य संघ बझाङका कोषाध्यक्ष शिवराज बोहराले सरकारलाई राजश्व बुझाई वैधानिक तरिकाले मदिरा व्यापार गरिरहेका व्यापारीहरूलाई जानकारी नदिई एक्कासी मदिरा निषेध गर्ने निर्णय गरेकाले आपत्ती जनाए ।
उनले जिल्ला सभाले मदिरा निषेध गर्ने निर्णय तत्काल सच्याउन माग राखेका छन् । छलफलमा उपस्थित सम्पूर्ण व्यापारीहरूले मदिरा निषेध भन्दा पनि नियन्त्रण तर्फ जान उपयुक्त हुने जानकारी दिएका थिए ।
उद्योग वाणिज्य संघ बझाङले जिल्ला सभाको सो निर्णय विरुद्ध पुनरावेदन अदालत डोटीमा रीट दायर गरिसकेको छ ।
जयपृथ्वी नगरपालिकाका उपमेयर जुना जाग्रीको अध्यक्षतामा भएको छलफलमा मेयर वीरेन्द्रबहादुर खडकाले पनि मदिराले जिल्लालाई हानी नोक्सानी गरेको भन्दै मदिरा निषेधित गर्न सबैको सहयोग चाहिने बताए । उनले मदिरा निषेध गरे मात्र पनि जिल्लामा हुने अपराधिक घटनामा पनि कमी आउने बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार