५ जेष्ठ २०८१, शनिबार

झोलुंगे पुल जीर्ण बन्दा सास्ती



बझाङ । दैनिक आवतजावत गर्ने झोलुङे पुल जीर्ण बन्दा बझाङको वित्थडचिर गाउँपालिका वडा नम्बर ९ का स्थानीयले सास्ती भोग्नु परेको छ । स्थानीय कालंगा नदीमा रहेको झोलुङे पुल जिर्ण हुँदा स्थानीयवासीले असुरक्षित तबरबाट दैनिक आवातजावत गर्नुपरेको हो ।
केदारस्यु र वित्थडचिर गाउँपालिका जोड्ने २५ वर्षअघि निर्माण गरिएको पुल अहिले जीर्ण बनेको छ । पुलमा बिच्छाइएका काठका फ्ल्याकहरू कुहिएर झर्न थालेका छन् । ठाउँठाउँमा जालीहरू चुडिएका छन् । स्थानीयले बेलाबेलामा पुलको मर्मत गर्ने गरे पनि त्यसले थेग्न छाडेको छ ।
गाउँबाट ज्यालामजदूरी तथा जागिरका लागि सदरमुकाम चैनपुर आउने स्थानीयदेखि सरकारी तथा गैरसरकारी कर्मचारीहरूलाई सोही पुलबाट आवतजावत गर्नुपर्ने बाध्यता छ । पुलको अवस्था जीर्ण भएपनि काममा जाँदा र फर्किंदा असुरक्षित यात्रा गर्नुपरेको बित्थडचिर गाउँपालिका–९ का हर्क धामीले बताए ।
“बर्खामास पानी परेका बेला त पुलमा बिछ्याइएका काठहरूसम्म पुग्नेगरी पानीको बहाव बढेको हुन्छ । कुन बेला पानीको बहावले पुल नै लैजाने हो की अत्तो–पत्तो हुँदैन ।” पुल तर्दै गरेका समय भेटिएका धामीले भने, “यो पुल विस्थापित भयो भने त हामीजस्ता कैयौं काम गरेर खाने व्यक्तिहरूको त गास नै चुडिन्छ ।”
स्थानीय थलारा बजारमा डकर्मी पेसा गर्दै आएका धामीले पुलको अवस्थाको बारेमा स्थानीय जनप्रतिनिधिहरूलाई जानकारी गराइए पनि सुधारको लागि पहल नभएको गुनासो पोखे । भने, “हामीले भनेको कसले सुन्छ र ?”
पुलको अवस्थाका कारण विद्यालय आउजाउ गर्ने विद्यार्थीलाई पुल तार्न अनिवार्य रूपमा अभिभावकहरू आउनुपर्ने बाध्यता छ । थलारा बजारमा रहेको चन्द्रोदय मावि, बाथलामा कक्षा तीनमा अध्ययनरत रमेश धामीले भने, “पानी नपरेको दिन त जसोतसो आफैं गैहाल्छौं । तर, पानी आएको दिन भने आमा बुबाले नै खोला तार्न आउनुहुन्छ ।”
करिब ९ सयभन्दा बढी परिवारको बसोबास रहेको उक्त क्षेत्रका अधिकांश स्थानीयमा हर्क र रमेश त प्रतिनिधि पात्र मात्रै हुन् । यो समस्या हिजोआज गाउँलेले नदेखेझैं गरेर हिँड्नु परेको छ ।
उता गाउँपालिकाका एक कर्मचारीले वडाबाट पहिलो निर्णय नै पुल निर्माणका विषयमा भएपनि जनप्रतिनिधिले वास्ता नगर्दा सो कार्य अगाडि बढ्न नसकेको बताए । “हाल प्रदेश सरकारबाट निर्माणको आस्वासन दिइए पनि जनप्रतिनिधि भने कानमा तेल हालेर बसेका छन्,” उनले भने ।
यता, बित्थडचिर गाउँपालिकाका अध्यक्ष प्रेम बोहराले पुलको विषयमा गम्भीर रहेको र निकट भविष्यममा नै पुल निर्माण गरिने बताए । ‘आफूहरूले सो पुलको निर्माणका लागि प्रदेश र केन्द्र सरकारसम्म पहल गरिरहेका छौं । छिट्टै सहज यात्रा गर्न पाउने वातावरण बनाउने छौं ।’

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार