२ जेष्ठ २०८१, बुधबार

निर्मला हत्या घटना : उच्चस्तरीय टोली फिर्ता हुँदै



कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर २ की १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या घटनाबारे छानविन गर्न गठिन उच्च स्तरीय छानबिन टोली आज (शनिबार) काठमाडौं फिर्ता हुँदैछ ।
१५ दिनभित्र छानविन प्रतिवेदन बुझाइसक्नुपर्ने समयसीमा पाएको गृह मन्त्रालयका सहसचिव हरिप्रसाद मैनाली संयोजकत्वको टोलीले भदौ ८ गतेदेखि छानबिन थालेको थियो ।
शुक्रबार महेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा छानबिन टोलीका संयोजक मैनालीले कञ्चनपुर घटनामा मुछिएका प्रहरी अधिकारी सबै केन्द्रमा तानिएका हँुदा उनीहरूसँग पनि सोधपुछ गरेर प्रतिवेदनलाई अन्तिम रूप दिने बताए ।
“यो घटनामा यहाँका तत्कालीन प्रहरी उपरीक्षक डिल्लीराज बिष्ट, प्रहरी नायव उपरीक्षक ज्ञानबहादुर सेठी, प्रहरी निरीक्षक एकिन्द्र खड्कालगायत प्रहरी अधिकारीहरू केन्द्रमै तानिएका छन् । उनीहरूसँग सोधपुछ गरेर मात्रै प्रतिवेदनलाई अन्तिम रूप दिन्छौं” संयोजक मैनालीले प्रतिवेदन लेखनमा अझै ३/४ दिन समय लाग्ने बताए ।
उच्च स्तरीय छानबीन टोलीले पनि घटनाको अनुसन्धानमा प्रहरीको चरम लापरवाही गरेको ठहर गरेको छ । “हामीले १५ दिनसम्ममा सबै पक्षसँग कुराकानी गर्‍यौं, उनीहरूको विवरण लियौं । आन्दोलन किन भयो ? प्रहरीले बल किन प्रयोग गर्नुपर्‍यो ? लगायत विषयवस्तुमा रहेर छानबिन गर्‍यौं” उनले भने– “वास्तवमा प्रहरीले घटनाको प्रारम्भिक चरणमा गम्भीर लापरवाही गरेकै हो । प्रहरीले भदौ ८ गते गोली चलाउनुपर्ने कुनै आवश्यकता नै थिएन । प्रहरीले आत्तिएर गोली चलाएको हो । अन्तत: प्रहरीको गोली लागेर शनि खुनाले ज्यान गुमाए ।”
घटनालाई उत्तेजित पार्नुमा सामाजिक सञ्जाल प्रयोगकर्ताको पनि ठूलो हात रहेको छानबिन समितिको ठहर छ । घटनाबारे आएका विभिन्न अनर्गल, भ्रामक र उत्तेजित पार्ने सामग्रीले पनि उत्तेजना फैलिएको समितिको भनाई छ । प्रहरीले अझै अनुसन्धान जारी राखेको बताउँदै संयोजक मैनालीले अपराधी पत्ता लगाउने अन्तिम तथा मुख्य जिम्मेवारी पनि प्रहरीकै रहेको उल्लेख गरे । तर, न्याय पाउने कुरामा कुनै आशंका नगर्न उनले आग्रह गरे ।
यसैबीच, शुक्रबार प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल पनि कञ्चनपुरमा आइपुगेका छन् । हिंसा न्यूनीकरण एवं मानवअधिकार संरक्षणसम्बन्धी राष्ट्रिय अभियान कार्यक्रममा सहभागी हुन पुगेका प्रहरी महानिरीक्षक खनालले निर्मला हत्या प्रकरणमा जोसुकै अपराधी भए पनि उन्मुक्ति नपाउने बताए । उनले केही ढिलो भए पनि अपराधीलाई कानुनी दायरामा ल्याएरै छोड्ने दावी गरे ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार