२ जेष्ठ २०८१, बुधबार

कालो भालुको सिकार आरोपमा दुई जना पक्राउ



दार्चुला । संकटापन्न वन्यजन्तुको सूचीमा रहेको कालो भालुको अपिनाम्पा संरक्षण क्षेत्रमै सिकार गरिएको आशंका गरिएको छ । अनुसन्धानमा कालो भालुको पित्त भएको देखिएपछि पक्राउ परेका दुईजनालाई साइटिस महासन्धिअनुसार नै कारबाही प्रक्रिया अगाडि बढाइने भएको छ ।
दार्चुलाको महाकाली नगरपालिका–४ बांगाबगडबाट २५ असारमा ६ वटा कालो भालुको पित्तसहित व्यास गाउँपालिका–६ हुतीका धनसिंह धामी र हुम्लाका रेकस शाहीलाई पक्राउ गरिएको थियो । राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा परीक्षण गर्दा ती पित्त कालो भालुको रहेको पुष्टि भएको वन डिभिजन कार्यालय, दार्चुलाका प्रमुख सञ्जय तिवारीले बताए । कालो भालुलाई संकटापन्न प्रजातिको अन्तराष्ट्रिय व्यापारसम्बन्धी महासन्धि (साइटिस) ले संकटापन्न वन्यजन्तुको सूचीमा राखेको छ ।
कालु भालुको अपिनाम्पा संरक्षण क्षेत्रमै शिकार गरेको आशंका गरिएको अनुसन्धानमा संलग्न वनकर्मीले बताएका छन । यस क्षेत्रमा कालो भालु अपिनाम्पा क्षेत्रमा मात्रै पाइन्छ । बरामद गरिएका ६ वटै पित्त आलै छन । ‘धेरै पुरानो नभएकाले नजिकैको क्षेत्रमा शिकार गरी ओसारपोसार हुन लागेको देखिन्छ,’ अनुसन्धानमा संलग्न एक वनकर्मीले भने ।
अपिनाम्पा संरक्षण क्षेत्रमा पर्ने व्यास गाउँपालिका–१ को बुँदी, कुन्तिसाउ र अपी वनक्षेत्रमा जेठ–असारमा भालुले आतंकित बनाएको थियो । आजभोलि त्यसक्षेत्रमा भालु नदेखिएको स्थानीय बासिन्दाले बताएका छन । अपिनाम्पाभित्रै पर्ने यही क्षेत्रमा कालो भालु मारिएको स्थानीय बासिन्दाको भनाइ छ । अनुसन्धानकै क्रममा रहेकाले अहिले नै यकिन गर्न नसकिने डिभिजन वन कार्यालय प्रमुख तिवारीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार