३ जेष्ठ २०८१, बिहीबार

पत्रकार खड्काको अवस्था अझैं अज्ञात : प्रदेश सरकार खोजतलास तथा उद्दारमा गम्भीर– मुख्यमन्त्री भट्ट



धनगढी । प्रदेश सातका मुख्यमन्त्री त्रिलोचन भट्टले सरकारले गम्भीरताका साथ पत्रकार तेजबहादुर खड्का (तेजु) को खोजतलास गरिरहेको बताएका छन् । बाजुराको बुढिनन्दा धार्मिक स्थलको भ्रमणपछि फर्किने क्रममा गत नौ गेते साँझदेखि पत्रकार खड्का सम्पर्कबिहीन रहेका छन् ।
शुक्रबार धनगढी आइपुगेको नेपाल पत्रकार महासंघ र नेपाल प्रेस यूनियनको केन्दीय मिसन टोलीसँग कुराकानी गर्दै मुख्यन्त्री भट्टले पत्रकार खड्का खोजी गर्न सरकारले कुनै कसर बाँकी नराख्ने बताए । उनले भने– आवश्यक परे केन्द्रीय सरकारको सहयोग लिएर पनि पत्रकार खड्काको खोजी गर्छौ ।

तेजू खड्का

मुख्यमन्त्रीले भदौ ९ गते बाजुराको धार्मिक तथा पर्यटकीय क्षेत्र बुढीनन्दाबाट हराएका पत्रकार खड्काको खोजी गर्न नेपाली सेना र नेपाल प्रहरीको टोली खटाइएको बताए ।
दुईवटै मिसन टोलीले शुक्रबार नै आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाहसंग पनि भेटेर पत्रकार खड्का खोजी गर्न विशेष पहल लिन आग्रह गरेको थियो ।
सो अवसरमा मन्त्री शाहले बाजुराको कोल्टी हुँदै परिचालित सुरक्षा टोली छाप्रेपाटन आधार शिविर बनाएर पत्रकार खड्काको खोजी कार्यमा जुटेको बताए । बुढीनन्दा छाप्रेपाटनबाट एक दिन टाढा रहेको बताइन्छ । बाजुराकै हिमाली गाउँपालिको कोटगाउँबाट पनि खोजी कार्यका लागि प्रहरी परिचालन गरिएको मन्त्री शाहले बताए । उनले भने– शुक्रबार नै नेपाली सेनाको अर्को टोली पनि खटिएर गएको छ ।
मन्त्री शाहले पत्रकार खड्का हराएदेखि नै सरकारले गम्भीररुपमा उनको खोजी कार्य तीब्र पार्न सुरक्षा निकायलाई निर्देशन दिएको बताए । उनले भने– मैले मन्त्रालयको सचिवालयलाई सुरक्षाकर्मीसँग नियमित सम्पर्क राखेर खोजी कार्यबारे जानकारी लिन लगाएको छु ।
१६ हजार फिटको उचाइमा रहेको बुढीनन्दामा हरेक जनैपूर्णिमामा मेला लाग्ने गर्दछ । पत्रकार खड्का सोही मेला हेर्न बुढीनन्दा गएका थिए । बुढीनन्दा मानवबस्तीबिहिन क्षेत्र हो । पत्रकार खड्काको खोजी तथा उद्धार गर्नका लागि नेपाल पत्रकार महासंघले केन्द्रीय महासचिव रमेश विष्टको नेतृत्वमा र नेपाल प्रेस यूनियनले अध्यक्ष बद्री सिग्देलको नेतृत्वमा मिसन टोली पठाएको छ ।
दुईवटै टोलीले शुक्रबार नै प्रदेश सातका प्रहरी प्रमुख प्रहरी नायव महानिरिक्षक सुरज केसीलाई पनि भेटेको छ । महासंघका महासचिव विष्टले मुख्यमन्त्री, मन्त्री र प्रहरी प्रमुखसंगको छुट्टाछुट्टै छलफलमा प्रदेश सरकारले पत्रकार खड्काको खोजीमा हरसम्भव प्रयास गरिरहेकोमा खुसी व्यक्त गरे ।
त्यस्तै यूनयनका अध्यक्ष सिग्देलले पनि अहिलेसम्मको प्रयास राम्रो भएको र चाडै राम्रो परिणाम आउनेमा आफू विश्वस्त रहेको बताए ।
महासंघ र युनियनको मिसन टोली धनगढीमा
छ दिनदेखि सम्पर्कबिहीन रहेका पत्रकार तेजबहादुर खड्का (तेजु) को अवस्था तथा खोजतलास कार्यको प्रगतिबारे जानकारी लिन तथा उद्दार कार्यमा सहयोग पुर्‍याउन नेपाल पत्रकार महासंघ तथा नेपाल प्रेस युनियनको केन्द्रीय मिसन टोली शुक्रबार धनगढी आइपुगेको छ ।
महासंघका महासचिव रमेश बिष्ट र प्रेस युनियनका केन्दीय अध्यक्ष बद्रि सिग्देलको नेतृत्वमा रहेको छुट्टाछुट्टै मिसन टोलीले शुक्रबार नै प्रदेश सातका मुख्यमन्त्री त्रिलोचन भट्ट, आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाशबहादुर शाहसँग भेट गरी पत्रकार खड्काको खोजतलासमा प्रदेश सरकारबाट अझ बढी तदारुकताका साथ काम गर्न आग्रह गरेको थियो ।
मिसन टोलीले शुक्रबार नै नेपाल पत्रकार महासंघको प्रदेश तथा जिल्ला कार्यसमितिका पदाधिकारी र अन्य पत्रकारहरूसँग हालसम्म सम्पर्कबिहीन रहेका पत्रकार खड्काको अवस्था, खोजतलास कार्यका साथै उनी सम्पर्कबिहीन भएको स्थानको भौगोलिक स्थितिबारे छलफल गरेको थियो ।
गत नौ गते साँझ छ बजेदेखि पत्रकार खड्का सम्पर्कबिहीन अवस्थामा छन् । बाजुराको प्रशिद्ध बुढिनन्दा धार्मिक तथा पर्यटन क्षेत्रको भ्रमणमा रहेका पत्रकार खड्का फर्किने क्रममा सम्पर्कबिहीन भएका थिए । डोटीका स्थायी बासिन्दा पत्रकार खड्का हाल बाजुराको कोल्टीस्थित बुढिनन्दा एफएममा कार्यरत छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार