१० श्रावण २०८१, बिहीबार

पत्रकार खड्काको खोजी तीब्र बनाइएको छ– मन्त्री शाह



धनगढी । प्रदेश सातका आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाशबहादुर शाहले पत्रकार तेजू खड्काको खोजी कार्यमा कुनै कमी हुन नदिने बताएका छन् ।

तेजू खड्का

भदौ ९ गते बाजुराको धार्मिक तथा पर्यटकीय क्षेत्र बुढीनन्दाबाट हराएका खड्काको खोजी गर्न नेपाली सेना र नेपाल प्रहरीको २३ सदस्यीय टोली परिचालन गरिएको मन्त्री शाहले बताए । बाजुराको कोल्टी हुँदै गएको सो टोली छाप्रेपाटन पुगेका छ । बुढीनन्दा छाप्रेपाटनबाट एक दिन टाढा रहेको बताइन्छ । बाजुराकै हिमाली गाउँपालिको कोटगाउँबाट पनि खोजी कार्यका लागि प्रहरी परिचालन गरिएको मन्त्री शाहले बताए ।
पत्रकार खड्का हराएदेखि नै आफूले गम्भीर रूपमा उनको खोजी कार्य तीब्र पार्न सुरक्षा निकायलाई निर्देशन दिएको मन्त्री शाहले जानकारी दिए । मन्त्रालयको सचिवालय सुरक्षाकर्मीसँग नियमित सम्पर्क राखेर खोजी कार्यबारे जानकारी लिइरहेको पनि आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ ।
खड्कालाई खोज्नका लागि नेपाल पत्रकार महासंघ जिल्ला, प्रदेश र केन्द्रले पनि सरकारलाई पटकपटक आग्रह गरेका छन् ।
१४ हजार फिटको उचाइमा रहेको बुढीनन्दामा हरेक जनैपूर्णिमामा मेला लाग्ने गर्दछ । खड्का सोही मेला हेर्न बुढीनन्दा गएका थिए । बुढीनन्दा मानवबस्ती बिहिन क्षेत्र हो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार