१० श्रावण २०८१, बिहीबार

निर्मला हत्या घटना : बम दिदीबहिनीलाई छ दिन थुनामा राखि अनुसन्धान गरिँदै



कञ्चनपुर । महेन्द्रनगरकी बालिका निर्मला पन्त हत्याको अनुसन्धानका क्रममा पक्राउ परेका रोशनी बम र बबिता बमलाई अदालतले ६ दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमती दिएको छ । जिल्ला अदालत कञ्चनपुरले सोमबार बम दिदीबहिनालाई अनुसन्धानका लागि छ दिन थुनामा राख्न आदेश दिएको कञ्चनपुर प्रहरी प्रमुख (एसपी) कुबेर कडायतले बताए ।
साउन १० गते पढ्न भनेर रोशनीको घर गएकी निर्मलाको अर्कोदिन बिहान नजिककैको उखुबारीमा शव फेला परेको थियो । मृतक निर्मलाका परिवारजनले बम दिदीबहिनीलाई पक्राउ गरी अनुसन्धान अघि बढाउनुपर्ने शुरुदेखि नै माग गर्दै आए पनि प्रहरीले चासो देखाएको थिएन । बलात्कार तथा हत्या घटनाको विरोधमा आन्दोलन उग्र बनेपछि दुई दिनअघि मात्र प्रहरीले उनीहरूलाई पक्राउ गरेको थियो ।
निर्मला बलात्कार तथा हत्या घटनामा प्रहरीले मानसिक अवस्था बिग्रेका ४१ वर्षीय दिलिपसिंह बिष्टलाई पक्राउ गरी अभियुक्तका रूपमा प्रस्तुत गरे पनि अहिलेसम्म कसैले पत्याएका छैनन् ।

कर्फ्यु खुकुलो बन्दै
आन्दोलन उग्र र हिंसात्मक बन्दै गएपछि स्थिति नियन्त्रणका लागि गत बिहीबारदेखि जारी गरिएको कर्फ्यु अहिले खुकुलो बन्दै गएको छ ।
बालिका निर्मलाको बलात्कार तथा हत्या घटनामा प्रहरीले वास्तविक दोषिलाई उम्काउन खोजिहेको भन्दै आन्दोलनले उग्र रूप लिँदै गएपछि स्थानीय प्रशासनले सोही साँझ पाँच बजेदेखि अर्को दिन बिहान पाँच बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेको थियो ।
प्रशासनले शुक्रबार विहान ८ बजेदेखि पुन: महेन्द्रनगर बजारमा कर्फ्यु लगाएको थियो । जिल्ला प्रशासन कार्यालयले भीमदत्त नगरपालिका वडा नम्बर ४, ६ र १८ का विभिन्न स्थानमा कर्फ्युको समयमा हेरफेर गरेको छ । सोमबार साँझ ६ बजेदेखि मंगलबार बिहान ५ बजेसम्मका लागि कर्फ्यु लगाउने आदेश जारी भएको छ ।
यसअघि स्थानीय प्रशासनले मध्याह्न १२ बजेदेखि साँझ ६ बजेसम्म कर्फ्यु लगाउने सूचना जारी गरेको थियो । जिल्ला सुरक्षा समितिको बैठकले कफ्र्युको समय हेरफेर गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले जानकारी दिए ।
सोमबार दिउसो एक बजेदेखि महेन्द्रनगर बजार खुलेसँगै बजारमा चहलपहल बढेको थियो । शैक्षिक संस्था भने सोमबार पनि बन्द थिए ।
यसैबीच, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले बालिका निर्मला पन्तको बलात्कार तथा हत्यामा संलग्न वास्तविक दोषीलाई यथाशिघ्र पहिचान गर्न माग गरेको छ । सोमबार विज्ञप्ती जारी गर्दै इन्सेकले निर्मला हत्या प्रकरणको सत्यतथ्य अवस्था सार्वजनिक गरी पीडित पक्षलाई यथाशीघ्र न्याय दिन माग गरेको छ ।
इन्सेकका अध्यक्ष सुबोधराज प्याकुरेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ–निर्मला पन्त हत्या प्रकरणमा उदासिन प्रहरीलाई कारबाही गर्न, घटनाका दोषीलाई यथासम्भव चाडो कानुनी दायरा ल्याउन, घाइते प्रदर्शनकारीको उपचारको व्यवस्था गर्न तथा मृतकका परिवारलाई उचित क्षतिपूर्ति प्रदान गर्न जोडदार माग गर्दछौ ।
‘घटनाको अनुसन्धान गर्न सरकारले सहसचिवको नेतृत्वमा अनुसन्धान टोली बनाएको छ’ विज्ञप्तीमा उल्लेख छ– नेपाल प्रहरी अपराध अनुसन्धानमा अब्बल मानिन्छ । तर, यो र यस्ता अनेक घटनामा प्रहरी अनुसन्धानको असफलताले प्रहरीमाथिको विश्वास घट्नेमा दुईमत छैन ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार