१० श्रावण २०८१, बिहीबार

सामाजिक परिचालक पुनः आन्दोलनमा



धनगढी, सामाजिक परिचालक कर्मचारी संघ प्रदेश ७ ले पुनः आन्दोलनका कार्यक्रम अघि सारेको छ ।
प्रदेश ७ का मुख्यमन्त्रीसंग भएको मौखिक सहमति कार्यान्वयन नभएपछि बुधबारदेखि उनीहरुले आन्दोलनका कार्यक्रम फेरि अघि बढाएका हुन् । ‘स्थानीय तहका वडाहरूमा एक पटकका लागि उमेरको हदबन्दी नलगाई योग्यताका आधारमा दरबन्दी कार्य गरी कर्मचारी समायोजन गर्न’ माग गर्दै बुधबारदेखि उनीहरूले धनगढीको ट्राफिक चौराहदेखि प्रदेश सभा सचिवालयसम्म नारा जुलुससहित ¥याली निकालेका थिए । उनीहरुले दुई घण्टा प्रदेश सभा सचिवालय अगाडि धर्ना पनि दिएका थिए ।
एक हप्ताअघि प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट, प्रदेशका प्रमुख सचिव लक्ष्मीराम पौडेल, सामाजिक विकास मन्त्री दीर्घबहादुर सोडारीसहितसंग उनीहरुको मागको सम्बोधनका लागि पहल गर्ने मौखिक प्रतिवद्धतापश्चात उनीहरुले आन्दोलनका कार्यक्रम स्थगित गरेका थिए ।
‘हामीसंग भएको सहमतिबारे अहिले कुनै सुनुवाई भएन’ प्रदेश ७ का अध्यक्ष खडक कैनीले भने– त्यसैले पुनः हामी आन्दोलनमा आउन बाध्य भयौं ।
आन्दोलन परिचालन समितिका संयोजक माधवप्रसाद जोशीले संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले राज्यमन्त्री स्तरीय २०७४ पुस १४ गते सामाजिक परिचालकलाई अवकास गराएको बताए ।
उनका अनुसार नेपाल परिचालक कर्मचारी संघले आन्दोलनका कार्यक्रमहरू सार्वजनिक गरी ३८ दिन लामो संघर्ष पश्चात चैत १३ गतेदेखि असार मसान्तसम्मका लागि करार सेवा अवधि थप गरेको थियो ।
संघर्ष समितिका संयोजक जोशीले असार ३१ सम्मका लागि सेवा अवधि थप भए तापनि साउनदेखि केन्द्रीय दायित्व नरहने र स्थानीय तहले आफै श्रोत व्यवस्थापन गरी आवश्यकताका आधारमा निरन्तरता दिन सकिने आसयको परिचपत्र देशभरका स्थानीय तहमा गरेको बताए । उनले सरकारको यो निर्णयले सामाजिक परिचालकहरू पुनः बेरोजगार हुनुपरेको बताए ।
उनले असार मसान्त पश्चात कतै निरन्तरता दिएको र कतै श्रोत अभाव देखाई निरन्तरता नभएको बताए । प्रदेशका नौ वटा जिल्ला गरी प्रदेशमा चार सय ५६ सामाजिक परिचालक रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार