१० श्रावण २०८१, बिहीबार

निर्मला बलात्कार र हत्या घटनाः महेन्द्रनगरमा तनाव बढ्यो



कञ्चनपुर, गतसाउन १० गते बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया निर्मला पन्तको हत्यामा संलग्न वास्तविक हत्याराको पहिचान गर्नु पर्ने माग राख्दै स्थानीय बासिन्दाले गरेको प्रदर्शनका कारण बुधबार पनि महेन्द्रनगर तनावग्रस्त रह्यो ।
प्रहरीले निर्मलाको बलात्कार र हत्या अभियोगमा मानसिक सन्तुलन ठिक नभएका ४१ वर्षीय दिलिपसिंह बिष्टलाई प्रक्राउ गरी सार्वजनिक गरेपछि स्थानीय बासिन्दाले बुधबार पनि महेन्द्रनगरमा आन्दोलन र प्रर्दशन गरे ।
आक्रोशित स्थानीयले बुधबार निर्मला साथी रोशनी बमको घर पनि घेराउ गरे । उनीहरुले निर्मलाको हत्यामा रोशनीकी दिदी बबिताको हात हुन सक्ने भन्दै उनीमाथि अनुसन्धानको माग गर्दै प्रदर्शन गरेका थिए ।
आक्रोशित भिडले रोशनीकोे घरभित्र प्रवेश गर्न खोजेपछि प्रहरी बल प्रयोग गर्दै २० राउण्ड हवाई फायर र दर्जनौ सेल अश्रुग्यास प्रहार गरेको प्रत्यक्षदर्शीले बताएका छन् । स्थानीय र प्रहरीबीच झडप समेत भएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा प्रहरी नायव उपरीक्षक ज्ञान बहादुर सेठीले ६४ सेल अश्रुग्यास प्रहार भएको बताए । ‘हवाई फायर भएको छैन’, प्रनाउ सेठीले भने, ‘स्थितिलाई नियन्त्रणमा लिन ६४ सेल अश्रुग्यास मात्रै हानिएको हो ।’
प्रहरीले रोशनी र बबितामाथि छानबिन नगरेको र निर्दोष व्यक्तिलाई फसाउन खोजेको भन्दै आन्दोलनमा उत्रिएको स्थानीय रञ्जु थापाले बताईन् ।
प्रहरी प्रशासनले वास्तविक दोषीलाई कानुनी दायरामा नल्याएसम्म आफूहको आन्दोलन जारी रहने स्थानीय बिमला थापाले बताईन् ।
निर्मला पन्तको बलात्कार र हत्यामा संलग्न दोषीलाई जोगाउन प्रयास गरेको भन्दै सर्वत्र त्यसको विरोध भइरहेको छ ।
उता, कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीय बालिका निर्मला पन्तको घटनामा प्रहरी अनुसन्धानमाथि प्रश्न उठाउ“दै डडेल्धुरामा पनि प्रदर्शनको गरिएको छ । निर्मलाको बलात्कारपछि हत्या गर्ने वास्तविक अपराधीलाई प्रहरीले उम्काउन खोजेको भन्दै डडेल्धुरा सदमुकाम बागबजारमा बुधबार नागरीक समाजका अगुवाहरूले आन्दोलन गरे ।
कञ्चनपुर प्रहरी सोमबार अभियुक्तका रुपमा दिलिप विष्टलाई सार्वजनिक गरेर मुख्य अपराधीलाई उन्मुक्ति दिइएको नागरीक अगुवाहरूको आरोप छ । प्रहरीले वास्तविक अपराधी लुकाई मानसिक सन्तुलन गुमेका व्यक्तिलाई दोषी बनाइ वास्तविक दोषीको बचाउ गरेको भन्दै आन्दोलन गरिएको पत्रकार महासंघ डडेल्धुराका अध्यक्ष मान बहादुर साउदले बताए ।
‘निर्मला पन्तको हत्यारालाई कारबाही गर, मानव अधिकारको रक्षा गर’ लगायतका नारा लगाउ“दै शान्तीपूर्ण आन्दोलन तथा एक घण्टा चक्काजाम गरिएको छ । आन्दोलनमा नागरीक समाजका अगुवा, स्थानिय समाजसेवी, पत्रकार, उद्योगी व्यवसायी लगायतको सहभागिता रहेको थियो ।
निर्मला पन्त हत्या प्रकरणको निष्पक्ष छानविन नभए आन्दोलनको कार्यक्रमलाई निरन्तरता दिने महिला मुक्ती समाजकी अध्यक्ष आरती जोशीले बताइन् । आन्दोलनका कारण एक घण्टासम्म सडक अवरुद्ध भएको थियो ।
आन्दोलनकारीहरूले कञ्चनपुरका प्रहरी प्रमुखले दोषीलाई लुकाउन खोजेको भन्दै प्रहरी प्रमुखलाई निलम्बन गर्नु पर्ने, दोषीलाई कडा कारबाही हुनुपर्ने माग राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार