१ जेष्ठ २०८१, मंगलवार

अविरल वर्षाबाट घर भत्किँदा एकको मृत्यु



बाजुरा । शुक्रबार दिउसोदेखि परेको अविरल वर्षाका कारण घर भत्किँदा बाजुराको बुढीगंगा नगरपालिका, मल्लोकुडिमा एक महिलाको मृत्यु भएको छ । घटनामा एक जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय, बाजुराका अनुसार वर्षाबाट घर भत्किएपछि ४५ वर्षीया कला परीको मृत्यु भएको छ । भने नन्दे परी घाइते भएका छन् ।
शुक्रबार दिउसोदेखि परेका अविरल वर्षाका कारण माथिबाट आएको पहिरोले घर भत्किएको बताइएको छ । पहिरोका कारण घर पूर्णरूपमा क्षतिग्रस्त भएको छ ।
अविरल वर्षापछि आएको पहिरोका कारण बुढीगंगा नगरपालिका वडा नम्बर २ मुसीगाउँका चन्द्र रावतको गाईगोठ बगेको छ । पहिरोले बगाउदा चन्द्र रावतकी आमा घाइते भएकी छन् । उनको टाँटे स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
गोठ भत्किदा दुई गाई, १० बाख्रा, एक गोरु र एक कुकुर मरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जानकारी दिएको छ ।
अविरल वर्षा तथा पहिरोका कारण बाजुराकै बडिमालिका नगरपालिका वडा नम्बर ४, रिलामा पनि वस्ती जोखिममा परेको छ ।
त्यस्तै, अविरल वर्षासँगै पहिरो बग्न थालेपछि बुढीनन्दा नगरपालिका वडा नम्बर १ पीपलडालीका १४ परिवार खुलाचौरमा आश्रय लिएर बसेका छन् ।
जिल्ला प्रहरी कार्यालयले केही दिनदेखिको अविरल वर्षा तथा पहिरोका कारण जिल्लाका दर्जन बढि स्थान प्रभावित भएको जनाएको छ । दुर्गममा रहेका गाउँमा सञ्चार सुविधा नभएका कारण सूचना आउन ढिलाई भइरहेको छ ।
बाजुराका प्रमुख जिल्ला अधिकारी चेतराज बरालले बाढी र पहिरोको बढि जोखिम भएका सम्भाव्य स्थानमा उद्दारका लागि प्रहरी, नेपाली सेना, रेडक्रसलाई तयारी अवस्थामा राखिएको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार