२३ बैशाख २०८१, आईतवार

विद्यालयमा विद्युतीय हाजिरी प्रणाली



कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिकाका सामुदायिक विद्यालयमा विद्युतीय हाजिरी (ई–हाजिरी) सुरु गरिएको छ । भीमदत्त नगरपालिका वडा नम्बर ९ ब्रह्मदेवस्थित सिद्धनाथ माध्यमिक विद्यालयबाट ई–हाजिरी सुरु गरिएको छ ।
भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले बुधबार विद्यालयमा आयोजित कार्यक्रममा विद्युतीय हाजिरी मेसिन उद्घाटन गरे । सो अवसरमा नगर प्रमुख विष्टले विद्यालयका प्रधानाध्यापक अम्बादत्त जोशीलाई मेसिन हस्तान्तरण गरेका थिए । जडान गरिएका मेसिनमा विद्यालयका प्रधानाध्यापक जोशी सहित शिक्षक, कर्मचारीले बटन थिचेर हाजिरी लगाएका थिए ।
सिद्धनाथ माध्यमिक विद्यालय भीमदत्त नगरपालिकामा ई–हाजिरी जडान गर्ने पहिलो विद्यालय बनेको छ । भीमदत्तका १९ सामुदायिक विद्यालयमा ई–हाजिरी जडान गरिने कार्यक्रम बनाइएको छ ।
विद्यालयका शिक्षक कर्मचारीलाई विद्यालयमा नियमित बनाएर शैक्षिक गुणस्तर सुधारका लागि विद्यालयमा ई–हाजिरी जडान गरिएको छ । प्रधानाध्यापक कक्षमा हाजिरी मेसिन जडान गरिएको छ ।
भीनपाका नगर प्रमुख विष्टले सामुदायिक शिक्षालाई गुणस्तीय बनाउन नगर विद्यालयहरूमा विद्युतीय हाजिरी जडान सुरु गरिएको बताए ।
‘सामुदायिक विद्यनालयको शैक्षिक गुणस्तर सुधारका लागि अल्कालीन र दीर्घकालीन योजनाका साथ अघि बढी रहेका छौं’ कार्यक्रममा नगर प्रमुख विष्टले भने– “त्यसै क्रममा सिद्धनाथबाट ई–हाजिरी सुरु गरेका छौं, अब क्रमश: अन्य विद्यालयमा पनि ई–हाजिरी सुरु गरेर जान्र्छौ ।’
नगर शिक्षा समिति गठन गरी नगर क्षेत्रको समग्र शिक्षाको शैक्षिक र भौतिक गुणस्तर सुधारका लागि कार्यक्रम सञ्चालन गरिएको उल्लेख गर्दै नगर प्रमुख विष्टले शिक्षक, कर्मचारी, अभिभावक र स्थानीय सबैको सहयोग चाहिनेमा जोड दिए ।
नगर प्रमुख विष्टले सिद्धनाथ माध्यमिक विद्यालयलाई नमुना विद्यालय बनाउन भीमदत्त नगरपालिकाले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।
‘यो विद्यालयलाई प्रविधिको प्रयोग गरी नमुना विद्यालय बनाउन सक्दो सहयोग हुन्छ’ नगर प्रमुख विष्टले ई–लाइब्रेरी निर्माण सहित भौतिक पूर्वाधार निर्माणका कार्य पनि सहयोग गरिने बताए ।
विद्यार्थीलाई फोहर व्यवस्थापनका लागि विद्यार्थीले क्लब गठन गरी प्रोत्साहन गर्नुपर्नेमा जोड दिँदै विद्यालयको खाली जमिनमा वृक्षारोपण गरी हरियाली बनाउनु आग्रह गरे । उत्तरी क्षेत्रका वासिन्दाको मागलाई मध्यनजर गरी जैविक मार्ग निर्माण गरिएको उल्लेख गर्दै नगर प्रमुख यसलाई खल्ला मुसेट्टीसम्म विस्तार गरिनेमा जोड दिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नवराज जोशीको अध्यक्षतामा गरिएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक जोशीले स्वागत गरेका थिए । प्रधानाध्यापक जोशीले विद्युतीय हाजिरीले शैक्षिक गुणस्तरमा सुधारमा सहयोग पुग्ने बताए ।
कार्यक्रम सञ्चालन विद्यालयका शिक्षक हिरासिंह ऐरीले गरेका थिए । कार्यक्रममा भीनपा वडा नम्बर ९ का अध्यक्ष राम नाथ, नगरपालिकाका आधारभूत तथा माध्यमिक शिक्षा शाखाका स्रोत व्यक्ति भवानीप्रसाद पन्त, क्षेत्रीय सहरी विकास कार्यक्रमका वातावरण विकास अधिकृत पदम जोशी, सामाजिक विकास अधिकृत गोमती अवस्थी, इन्जिनियर आशा बोहरा, सूचना प्रविधि अधिकृत विनय कलौनी सहित शिक्षक, कर्मचारी, स्थानीय सहभागी रहेका थिए ।
भीमदत्त नगरपालिकाका सूचना अधिकारी हरिसिंह धामीले जेसिज मावि राजीपुर, सरस्वती मावि महुलिया, बैजनाथ मावि नयाँ तिलकपुर, सत्यवादी मावि वनगाउँ, शान्ति निकेतन मावि ऐंठपुर, महाकाली जनसेवा मावि हल्दुखाल, त्रिभुवन मावि त्रिलाचौर, सिद्धनाथ मावि जिमुवा, युवा वर्ष मावि तिल्केनी, सिद्धनाथ अमर मावि गड्डाचौकी, पूर्णा मावि ऐरी, सिद्धनाथ मावि बडैपुर, लक्ष्मी खैरभट्टी, सरस्वती मावि परखेडी, महेन्द्रनगर मावि महेन्द्रनगर, निंगलाशैनी मावि गोबरैया र लक्ष्मी मावि बागफाँटामा विद्युतीय हाजिरी प्रणाली जडान गरिने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार