५ जेष्ठ २०८१, शनिबार

नगरपालिकाद्वारा कार्यप्रगति विवरण सार्वजनिक



महेन्द्रनगर । भीमदत्त नगरपालिका कार्यालयले आर्थिक वर्ष २०७४/०७५ मा भएका कार्यक्रमहरू बुधबार पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको छ ।
सो अवसरमा नगर प्रमुख सुरेन्द्र विष्टले चालु आर्थिक वर्षमा प्रस्ताव गरिएका नगरका गौरवका योजना सहित गत आर्थिक वर्ष २०७४/०७५ मा गरिएका कार्यक्रमको जानकारी गराए ।
नगर प्रमुख बिष्टले स्थानीय सरकार सञ्चालन ऐन ढिलो प्राप्त हुने तथा विषयत कार्यालय समायोजनका कारण सरकार सञ्चालनमा केही समस्या देखिएको जनाए ।
उनले एक वर्षको अवधिमा जैविक मार्ग निर्माण, शुक्लाफाटा पर्यटन मार्गको निर्माण थालनी, चक्रपथ निर्माणको शुरुवात, ३१ वटा कानुन निर्माण, योवजनावद्ध सहर विकासका लागि गुरुयोजना निर्माण, विभिन्न पुरस्कार स्थापना, सिसीटिभी क्यामेरा जडान, छाडा गाई व्यवस्थापनका लागि गौशाला निर्माण लगायतका कार्यक्रम गरिएको बताए ।
यस अवधिमा वडा कार्यालय सञ्चालन, एक वडा एक उत्पादन पहिचान, कार्यालयमा विद्युतीय सूचना पाटी र बायोम्याट्रिक हाजिरी प्रणाली, मोबाइल एप्स निर्माण, गुनासो व्यवस्थापनका लागि टोल फ्रि नम्बर, दलित परिवारलाई पाँच सय थान सोलार वितरण, विपद् व्यवस्थापन कोष स्थापना, ८५ दशमलव तीन किलोमिटर सडक ग्राभेल, २२ किलोमिटर सडक कालोपत्रे र ४२ वटा कल्भर्ट तथा नयाँ पुरानो र सडक गरी एक सय किलोमिटर बाटो निर्माण गरिएको बताए ।
त्यस्तै, महाकाली अञ्चल अस्पताल, बाल उद्यान, तरकारी तथा फलफूल बजार, पिपरैया पार्क, बाराकुण्डा धार्मिक पर्यटकीय क्षेत्र, झिलमिला भ्यू टावर, नगर यातायातको गुरुयोजना निर्माण, वडा स्तरमा सार्वजनिक सुनुवाई, सबै वडामा घरपालुवा पशु चौपायामा ट्याग लगाउने कार्य, नगरको वृत्तचित्र, वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्र, सुदूरपश्चिमाञ्चल विश्वविद्यालय, राष्ट्रिय भूकम्प प्रविधि समाज नेपाल र नगर विकास कोषसँग सहकार्यका लागि सम्झौता, सामुदायिक विद्यालयहरूमा विद्युतीय हाजिरी (इ–हाजिरी), ट्रान्सफर खरिद, सार्वजनिक तथा सरकारी सम्पत्तिको लगत संकलन, पूर्ण खोप सुनिश्चित नगरपालिका घोषणा, एक सय दिने योग शिविर कार्यक्रम सञ्चालन गरिएको उनले बताए ।
त्यस्तै, प्रदेश स्तरीय मेयर कप भलिबल तथा नगर स्तरीय मावि खेलकूद प्रतियोगिता आयोजना, नगर शिक्षा समिति गठन, विपद् व्यवस्थापन समिति गठन, सिंचाईका लागि ३२ वटा बोरिङ जडान, नगरपालिकामा १६ वटा सुरक्षित प्रसूति सेवा केन्द्र स्थापना, स्वास्थ्य शिविर सञ्चालन, बाराकुण्डाका १२ वटा कुण्डमा जल पुन:भरण कार्यक्रम, महाकाली नदीमा साहसिक जलयात्रा सञ्चालनका लागि संघीय सरकारसित पहल लगायत कार्यक्रम पनि भएका थिए ।
त्यस्तै, महेन्द्रनगर बजार क्षेत्रमा छरिएर रहेका ठेलाको व्यवस्थापन, घुम्ती राजश्व संकलन अभियान सञ्चालन, अपाङता भएका व्यक्तिहरूलाई सहायक सामग्री वितरण, वडाबाट सामाजिक सुरक्षा भत्ता वितरण, सीपमूलक तालिम सञ्चालन, पशु तथा कृषि क्षेत्रमा अनुदान वितरण, नगरपालिका कार्यालय र प्रत्येक वडा कार्यालयमा नागरिक बडापत्रको व्यवस्थापन, नगर प्रहरीलाई तालिम, कर्मचारीको सांगठनिक ढाँचा, दरबन्दी निर्धारण र कार्य विवरण, नगर स्तरीय शैक्षिक क्यालेण्डर निर्माण, योग तथा आयुर्वेद पाठ्यक्रम निर्माणका लागि गृहकार्य, वडाहरूमा वडा स्वास्थ्य केन्द्र स्थापना कार्य थालनी, सुनौला हजार दिन कार्यक्रम निरन्तरता, जगद्गुरुको नेतृत्वमा चौपाया फिर्ता अभियान, फोहरमैला व्यवस्थापनका लागि सचेतना कार्यक्रम सञ्चालनका लागि सरसफाई दुत नियुक्त गरिएको छ ।
नगरप्रमुख बिष्टले एक वर्षको अवधिमा घुम्ती सरसफाई कार्यक्रम, कार्यालय परिसरभित्र संकलन हुँदै आएको फोहोरमैला व्यवस्थापन, एक विरुवा वृक्षारोपण अभियान सञ्चालन, चौधर नदीमा जैविक तटबन्ध निर्माण, वडा नम्बर १२ र १३ को सीमा क्षेत्रमा अन्त्येष्टि घाट निर्माणका लागि ठेक्का सम्झौता, धार्मिक, ऐतिहासिक, पर्यटकीय, प्राचीन स्थलहरूको खोजी तथा संरक्षण, भलिबल सहित विभिन्न खेलको राष्ट्रिय टीमका खेलाडीलाई सम्मान, पत्रकार महासंघ कञ्चनपुरसित सहकार्य, आदिवासी सुनाहा, रानाथारू र अन्य लोपोन्मुख, अल्पसंख्यक एवम् पिछिडिएका समुदायलाई सूचीकृतका लागि प्रदेश सरकारसँग आवश्यक पहल, हिंसापीडित महिला तथा असहायहरूका लागि नगर सेवा केन्द्र स्थापना, ज्येष्ठ नागरिक, महिला स्वयंसेविकाहरूलाई अध्ययन अवलोकन भ्रमण, कञ्चनपुर कारागारका कैदीबन्दी, बृद्ध सेवा केन्द्र र जिल्ला अपाङसेवा संघ, महाकाली अञ्चल बाल अनाथालयलाई आवश्यक सहयोग, घुम्ती कर शिविर आयोजना लगायतका कार्यक्रम भएको बताए ।
पत्रकार सम्मिेलनमा इन्जिनियर हिमालयसिंह ऐरले भौतिक पूर्वाधारको प्रगति सम्बन्धी जानकारी गराएका थिए ।
नगर उपप्रमुख सुशीला चन्द सिंहले सहभागीहरूलाई स्वागत सहित राजश्वका दर निर्धारण सम्बन्धी जानकारी गराएकी थिइन् ।
कार्यक्रम नगरपालिकाका प्रवक्ता राजेन्द्र पाण्डेयले कार्यक्रम सञ्चालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार