५ जेष्ठ २०८१, शनिबार

झण्डै ३९ करोड रूपैयाँ फ्रिज



बाजुरा । बाजुरामा गत आर्थिक वर्ष २०७४/०७५ मा झण्डै ३९ करोड रूपैयाँ बजेट फ्रिज भएको छ । कोष तथा लेखा नियन्त्रण कार्यालय बाजुराका अनुसार गत आर्थिक वर्षमा चालू तथा पुँजीगत दुवैतर्फ गरी ३८ करोड ९७ लाख १९ हजार दुई सय ३२ रूपैयाँ खर्च हुन नसकी फ्रिज भएको छ ।
चालू खर्चतर्फ विनियोजित कुल तीन अर्ब ३० करोड ६३ लाख ९६ हजार चार सय ३४ रूपैयाँमध्ये तीन अर्ब ७६ करोड १८ लाख ७ हजार २ सय १८ रूपैयाँ खर्च भएको छ । चालू खर्चतर्फ ९३ प्रतिशत बजेट खर्च भएको कोष तथा लेखा नियन्त्रण कार्यालय बाजुराका कोष नियन्त्रक बिष्णुदत्त जोशीले जानकारी दिए ।
त्यस्तै, पुँजीगततर्फ ७३ दशमदव ७६ प्रतिशत बजेट खर्च भएको छ । पुँजीगततर्फ विनियोजित ६० करोड ८० लाख एक हजार रूपैयाँमध्ये ४४ करोड ८४ लाख ९१ हजार ८७ रूपैयाँ खर्च भएको छ ।
कोष तथा लेखा नियन्त्रण कार्यालय बाजुराका अनुसार चालू खर्चतर्फ छुट्याइएको बजेटमध्ये २३ करोड २० लाख ९ हजार २ सय ८० रूपैयाँ फ्रिज भएको छ भने पुँजीगततर्फ १५ करोड ९५ लाख ९ हजार ९ सय ५२ रूपैयाँ बजेट फ्रिज भएको कोष तथा लेखा नियन्त्रक जोशीले बताए ।
कोष तथा लेखा नियन्त्रण कार्यालयको प्रारम्भिक प्रतिवेदन अनुसार बाजुरामा यसवर्ष ७ करोड ८० लाख ४३ हजार ९ सय ५२ रूपैयाँ राजस्व संकलन भएको बताएको छ । गत बर्षको तुलनामा ४७ प्रतिशतले राजश्वमा बृद्धि भएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार