२१ जेष्ठ २०८०, आईतवार

महिला बेचबिखनका घटनामा बृद्धि, उजुरी भने न्यून



धनगढी । कैलालीमा महिला बेचविखन तथा ओसारपसारका घटनामा लगातार बृद्धि भइरहे पनि प्रहरी प्रशासनमा उजुरी संख्या भने न्यून रहेको छ ।
कैलालीमा कार्यरत माइती नेपाल, थ्री एन्जल्स नेपाल र पुनस्र्थापना गृहको तथ्यांकअनुसार गत आर्थिक वर्ष २०७४/०७५ मा बेचबिखनमा परेका दुई सय नौ जना महिला तथा बालिकाको उद्धार गरिएको छ ।
माइती नेपालको कैलाली शाखाले आर्थिक वर्ष २०७४/०७५ मा गौरीफन्टा नाका भएर भारततर्फ लैजादै गरेका एक सय १९ जना महिला तथा बालबालिकाको उद्धार गरेको जनाएको छ । त्यस्तै, थ्री एन्जल नेपालले १९ र पुनस्र्थापना गृह नेपालले गौरीफन्टा नाका हुँदै भारततर्फ लैजादै गरेका ५२ जनाको उद्धार गरेको जनाएको छ । माइती नेपालले अघिल्लो आर्थिक वर्ष २०७३/७४ मा भारत तर्फ लैजादै गरेका ८६ जनाको उद्धार गरेको तथ्यांक छ ।
विभिन्न बहानामा भारततर्फ लैजादै गरेका महिला तथा बालबालिकाको सीमानाकाबाट उद्दार गर्ने संख्या बर्सेनि बढ्दै गए पनि जिल्ला प्रहरी कार्यालयमा न्यून संख्यामा मात्रै उजुरी आउने गरेको देखिएको छ ।
कैलाली जिल्ला प्रहरी कार्यालयले दिएको तथ्यांकअनुसार आर्थिक वर्ष २०७३/७४ मा महिला बेचविखन तथा ओसारपसार सम्बन्धी चार वटा उजुरी परेका थिए भने आर्थिक वर्ष २०७४/७५ मा नौवटा उजुरी परेका छन् ।
माइति नेपाल, थ्री एन्जल्स, पुनस्र्थापना केन्द्रसहितका संघसंस्थाले उद्धार गरिएका प्राय: महिलाले आफूहरू नातागोताका व्यक्ति, इष्टमित्र, छिमेकी तथा अज्ञात व्यक्तिको प्रलोभनमा परेर रोजगारी गर्न अथवा विवाह प्रयोजनका लागि भारत जान लागेको बताउने गरेका छन् । एक अध्ययनअनुसार नेपालबाट बर्सेनि १५ हजार बढी नेपाली महिला/युवती भारत वा भारत हुँदै तेस्रो मुलुक पुर्‍याइने गरिएको छ ।
उद्धार गरिएका महिलाहरूसँगको कुराकानीका क्रममा उनीहरू प्राय:ले राम्रो रोजगारी पाइने आशामा विदेश जाने गरेको बताउने गरेका छन् । राम्रो आम्दानी हुने र कुनै समस्या नहुने भन्दै दलालले महिलालाई प्रलोभनमा पारेर अवैध बाटोबाट विदेश लैजाने गरेको अध्ययनले देखाएको छ । नेपालबाट भारतसम्म पुर्‍याउन सीमा कटाउने व्यक्ति प्राय: फरार हुने भएकाले चेलीबेटी ओसारपसार तथा बेचबिखनमा संलग्न दलालहरूले मौका पाइरहेका छन् ।
दलालले नयाँनयाँ तरिका अपनाएर चेलीबेटीलाई भारत लग्ने गरेको माइती नेपाल कैलाली शाखाका प्रमुख शिवचरण चौधरीले बताए । “गौरीफन्टा सीमानाका भएर भारत हुँदै तेस्रो मुलुकमा समेत चेलिबेटी बेचबिखन भइरहेको छ” उनले भने– “यस्तो गिरोहका व्यक्तिले किनमेल गर्न सीमावर्ती बजार जान लागेको, स्वेच्छाले जान लागेको, आफन्त र परिवारका सदस्यका साथ जान लागेको भन्न सिकाउने गरेको पाइएको छ ।
माइती नेपाल कैलालीका प्रमुख चौधरीले कैलाली र कञ्चनपुरको भारतसँग खुला सीमाना भएकाले दलालहरूलाई सीमा कटाउन सजिलो भइसकेको देखिएको बताए । उनले नेपालका पूर्वि जिल्लाबाट समेत महिलालाई यो नाकाबाट लैजाने गरेको बताए ।
थ्री एन्जल्स नेपाल कैलालीकी सहायक प्रमुख कमला साउँदका अनुसार “विशेषगरी विवाहित महिलाहरू फेसबुक तथा फोनमा परिचय भएको भरमा भारत जाने गरेका छन् ।” “१६ देखि २० वर्षका युवतीहरू धेरै जसो बेरोजगारीका कारण दलालको फन्दामा परिरहेको भए पनि श्रीमान विदेश गएका कतिपय महिला अर्को विहे गर्ने नाममा समेत दलालको हातमा परिरहेको पाइन्छ” उनले भनिन्– “घरमा छोराछोरी छोडेर अर्कै पुरुषसँग भारततर्फ गइरहेको अवस्थामा पनि केही महिलालाई उद्धार गरेर घर फर्काएका छौं ।”
उनले बिना परिचय फोनमा कुरा भएको भरमा युवतीहरू घर छोडेर आउने र अर्को विहे गर्ने रहरमा विवाहित महिलाहरू आफन्तबाटै बेचिने गरेको पनि कतिपय घटनाले देखाएको बताइन् ।

प्रतिक्रिया दिनुहोस्