१२ श्रावण २०८१, शनिबार

विविध कार्यक्रम भीमदत्त स्मृति दिवस मनाइयो



डडेल्धुरा । किसान नेता भीमदत्त पन्तको ६६ औँ स्मृती दिवस विभिन्न कार्यक्रम गरी बिहीबार डडेल्धुरामा मनाइएको छ ।
किसान योद्धाका रूपमा चिनिने पन्तको २०१० साउन १७ गते टाउको काटेर हत्या गरिएको थियो । सोही सम्झनामा शहिद भीमदत्त स्मृति प्रतिष्ठानले स्मृति दिवस मनाउँदै आएको छ ।
स्मृति दिवसको अवसरमा डडेल्धुरा बागबजारस्थित पन्तको शालिकमा माल्यार्पण गरिएको थियो । त्यस्तै, डडेल्धुरा उपक्षेत्रीय अस्पतालका बिरामीहरूलाई फलफूल वितरण गरिएको थियो ।
दिवसकै अवसरमा अन्तरक्रिया र बागबजारमा दीप प्रज्ज्वलन गरिएको भीमदत्त स्मृति प्रतिष्ठानका कार्यवाहक अध्यक्ष उमेशप्रसाद भट्टले जानकारी दिए ।
प्रतिष्ठानले लामो समयदेखि शहिद पन्तको स्मृति दिवस मनाउँदै आएको थियो । सरकारले २०७२ फागुन १९ गते बुधबार भीमदत्त पन्तलाई शहिद घोषणा गरेको थियो ।
शहिद भीमदत्तको १९८३ मंसिर १० गते डडेल्धुराको अमरगढी–२, कारीगाउँमा जन्म भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार