३० भाद्र २०८१, आईतवार

बालिका हत्या घटना : कारबाहीको माग गर्दै प्रदर्शन



कञ्चनपुर । कञ्चनपुर, भीमदत्त नगरपालिकाको निम्बुखेडामा गत शुक्रबार बालिकाको विभत्स ढंगले भएको हत्यामा संलग्न अपराधी पक्राउ गरी कडा कानुनी कारवाहीको माग गर्दै शनिबार महेन्द्रनगरमा प्रदर्शन भएको छ ।
गत शुक्रबार निम्बुखेडाको उखुबारीमा १३ वर्षीया बालिका निर्मला पन्तको शव फेला परेको थियो । अर्धनग्न अवस्थामा रहेको बालिका पन्तको बलात्कारपछि हत्या गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ ।
मृतक बालिकाका आफन्त तथा ठूलो संख्यामा रहेका स्थानीयले बलात्कारपछि हत्या घटनाको ७२ घन्टा भइसक्दा पनि प्रहरीले घटनामा संलग्न अपराधीलाई पक्राउ गर्न नसकेकोमा तीब्र आक्रोस व्यक्त गरेका थिए । उनीहरूले घटनामा संलग्न अपराधीहरूलाई तत्काल पक्राउ गरी कडाभन्दा कडा कानुनी कारवाही गर्न माग गरे । आफन्त तथा स्थानीयले सुरक्षाको उचित प्रबन्ध गर्न पनि प्रशासनसँग माग गरे ।
भीमदत्त नगरपालिका वडा नम्बर २, उल्टाखाम महुलियाकी बालिका निर्मला गत बिहीबार दिउँसो पढाईका लागि साथीको घर जाने भनेर निस्किएको बताइन्छ । अबेर रातिसम्म घर नफर्केपछि र उनका परिवारजनले प्रहरीमा खबर गरे पनि प्रहरीले ‘राति भएकाले खोजतलास गर्न नसकिने’ बताएको आफन्तजनले गुनासो गरे ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले घटनाको गहन अनुसन्धान भइरहेको जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक ज्ञानबहादुर सेठीले बालिका निर्मलाको बलात्कारपछि हत्या भएको देखिएको बताए । उनले अहिलेसम्म दोषिको पहिचान हुन नसकेको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार