निर्माणाधीन पुल भत्कियो
डडेल्धुरा । डडेल्धुराको भागेश्वर गाउँपालिका वडा नम्बर ४ डुङरीदेखि अजयमेरु गाउँपालिकाको वडा नम्बर ५ देवल दिव्यपुर जोड्ने सडक खण्डको सेरागाडमा निर्माणाधीन पक्की पुल भत्किएको छ ।
चार दिन पहिले मात्रै ढलान गरिएको पक्की पुल बुधबार बेलुका देखि परेको लगातारको वर्षाका कारण भत्किएको बताइएको छ । डिभिजन सडक कार्यालय कुलपाते, दिपायलले पुल निर्माणका लागि २०७२ भदौ २४ गते बिकोई बिल्र्डस प्रालिसँग ठेक्का सम्झौता गरेको थियो ।
पांच करोड एक लाख रूपैयाँमा ठेक्का सम्झौता गरेको निर्माण कम्पनीलाई पुल निर्माण कार्य पुरा गर्न दुई वर्षको समयावधि तोकिएको थियो । २०७४ साल भदौ २४ गते ठेक्का अवधि सकिएपछि २०७५ भदौ ९ गते सम्म काम सक्ने गरी म्याद थप गरिएको डिभिजन सडक कार्यालय कुलपाते, डोटीले जनाएको छ ।
वर्षातको समयमा जोखिम मोलेर पुल निर्माणको काम गरिएकाले बाढीका कारण निर्माणाधीन पुल भत्किएको डिभिजन सडक कार्यालय डोटीका इन्जिनियर महानन्द जोशीले बताए ।
गुणस्तरहीन सामग्रीको प्रयोग, गलत डिजाइन र भारी बर्षातको बेला खोलामा ढलान गर्ने र गराउने काम भएकाले चरम लापरवाहीका कारण पुल भत्किएको अजयमेरु गाउँपालिकाका अध्यक्ष उमेशप्रसाद भट्टले आरोप लगाए ।