१० श्रावण २०८१, बिहीबार

सिकलसेल र बिटाथालिसिमियाका बिरामी बढे



धनगढी । कैलाली र कञ्चनपुरमा सिकलसेल एनिमिया र बिटाथालिसिमियाका ६० जना बढी बिरामी भेटिएका छन् ।
कैलालीको भजनी र कञ्चनपुरको लालझाडीमा केही दिन अघि भएको एक दिने सिकलसेल एनिमिया पहिचान, उपचार र नियन्त्रण शिविरमा सिकलसेल एमिमियाका ३३ र विटाथालिसिमिया २८ जना विरामी भेटिएको जनाइएको छ ।
प्रदेश सातको सामाजिक विकास मन्त्रालयको आयोजनामा कैलाली र कञ्चनपुरमा ती शिविर भएका थिए । कैलालीको भजनीमा भएको शिविरमा ११ र कञ्चनपुरको लालझाडी शिविरमा २२ जना गरी सिकलसेल एमिमियाका ३३ जना बिरामी भेटिएका थिए ।
ती दुई शिविरमा चेकजाँच गर्न आएका मध्ये तीन सय ७५ जनाको रक्त संकलन गरेर काठमाडौंको सेन्ट्रल डाइगोनिष्टिक ल्याब्रोटरी एण्ड रिसर्च सेन्टर पठाइएकोमा ३३ जनालाई सिकलसेल एनिमिया र २८ जनामा विटाथालिसिमिया भेटिएको सामाजिक विकास मन्त्रालयका परिवार नियोजन सुपरभाइजर योगेन्द्रप्रसाद ओझाले बताए ।
सिकलसेल एनिमिया र विटाथालिसिमिया रोग असाध्य रोगका रूपमा रहेको छ । सिकलसेल एनिमिया थारू समुदायमा वंशाणुगत रूपमा लाग्ने रोग मानिन्छ । भने, सोही प्रकारको विटाथालिसिमिया पनि थारू समूदायमा देखिन थालेको छ । सरकारले सिकलसेल एनिमियाका विरामीलाई जीवन निर्वाहका लागि एक पटकलाई एक लाख रुपैयाँ दिने गरेको छ ।
त्रिभुवन विश्वविद्यालय र नेपाल हेल्थ रिसर्च काउन्सीलले केही वर्षअघि गरेको अध्ययन अनुसार नेपालमा तीन लाखभन्दा बढी सिकलसेल एनिमियाका बिमारी रहेको अनुमान गरिएको छ ।
२०६८ सालको जनगणना अनुसार नेपालमा १७ लाख ३० हजार थारू समुदायको जनसंख्या रहेको छ । भने १७ प्रतिशत थारू समुदायमा सिकलसेल एनिमिया रहेको तथ्यांकले देखाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार