१० श्रावण २०८१, बिहीबार

माओवादीलाई जंगलबाट सत्तामा पुर्‍याउने काँग्रेस नै हो– नेता सिंह



डडेल्धुरा । नेपाली काँग्रेसका पूर्व महामन्त्री प्रकाशमान सिंहले जंगलमा रहेको तत्कालीन माओवादीलाई काँग्रेसले नै त्यहाँबाट फर्काएर सत्तामा पुर्‍याएको बताएका छन् । नेता सिंहले काँग्रेसले नै राणा शासन, पञ्चायत र राजा फालेको पनि दावी गरे ।
नेपाल प्रेस यूनियन डडेल्धुराले मंगलबार डडेल्धुरा सदमुकाममा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता सिंहले भने– काँग्रेसले नै जहानिया राणा शासनको अन्त्य गर्‍यो, पञ्चायत र राजा फाल्यो र बन्दुक उठाएर जंगल पसेको माओवादीलाई त्यहाँबाट ल्याएर सत्तामा पुर्‍याएको हो ।
उनले काँग्रेस सधैं जनता, राष्ट्र र लोकतन्त्रको हितमा कटिवद्ध भएको चर्चा गरे । उनले सरकारको राम्रो काममा काँग्रेसको समर्थन रहने दोहोर्‍याए । भने– तर, वर्तमान सरकारले जनतामाथि कर र महंगी मात्रै बढाउँदै गएको छ । लोकतन्त्र कमजोर बनाइरहेको छ । त्यसैले काँग्रेसले बाध्य भएर सडकमा ओर्लिनु परेको छ ।
उनले वर्तमान सरकार अधिनायकवाद तर्फ उन्मुख भइरहेको आरोप लगाए । ‘सार्वजनिक स्थानलाई निषेधित क्षेत्र घोषण गर्नु अधिनायकवादी सोच नभएर के हो ?’ उनले भने– देशमा लोकतन्त्र तथा नागरिक अधिकारका लागि आन्दोलन तथा विरोध प्रर्दशनको मुख्य केन्द्र बनेको माइतीघर मण्डलालाई निषेधित क्षेत्र घोषणा गरेर सरकारले अधिनायकवादी चरित्र देखाएको छ ।
नेता सिंहले चिकित्सा शिक्षा तथा स्वास्थ्य सेवाको सुधारका साथै चिकित्सा शिक्षामा आम नेपाली नागरिकको सहज पहुँचको माग सहित अनशनमा बसेका डाक्टर गोविन्द केसीका माग पुरा गराउन तथा उनको जीवन रक्षाका लागि काँग्रेसले संसद र सडकमा संघर्ष गरिरहेको दोहोर्‍याए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार