भीमदत्त नगरपालिकाले छाडा पशुचौपाया व्यवस्थापन गर्दै
कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका छाडा पशुचौपायाको व्यवस्थापनमा जुटेको छ । नगर क्षेत्रको छाडा पशुचौपाया समस्या समाधान गर्न पहिलो चरणमा नगरपालिकाका १९ वटै वडाबाट पशुको लगत संकलन गरेको नगरपालिकाले पशुचौपायामा ट्याग लगाउने कार्य गरिरहेको छ । नगरक्षेत्रमा रहेका साढे ३१ हजार पशुचौपायामध्ये हालसम्म २३ हजारमा ट्याग लगाउने काम पुरा भएको नगरपालिकाले जनाएको छ ।
ट्याग लगाउने काम सकिएपछि नगर क्षेत्रमा छाडा छोडिएका पशुचौपायालाई गौशालामा व्यवस्थापन गरिनेछ । त्यसपछि पनि पशुचौपाया छोड्नेलाई पशु व्यवस्थापन कार्यविधि बमोजिम कारबाही हुनेछ । नगरपालिकाले पहिलो चरणमा ११ वडाका झन्डै २३ हजार पशुमा ट्याग लगाउने काम सम्पन्न गरेको छ भने ८ वटा वडामा पनि ट्याग लगाउने काम सुरु गरेको भीमदत्त नगरपालिकाकी उपप्रमुख सुशीला चन्द सिंहले बताइन् । नगरपालिकाले पशुधनीको पहिचान हुने गरी प्रत्येक वडामा फरकफरक संकेतका ट्याग लगाइरहेको उनले बताइन् ।
वडा कार्यालय मार्फत सञ्चालन भइरहेको सो कार्यक्रम अन्तिम चरणमा रहेको नगरपालिकाले जनाएको छ । नगरबासीले पालेका पशुचौपायामा ट्याग लगाउने काम सकिएपछि बाँकी रहेका पशुहरूलाई गौशालामा व्यवस्थापन गर्ने योजना रहेको भीमदत्त नगरपालिकाका प्रमुख सुरेन्द्र विष्टले बताए ।
कार्यविधिले पहिलो पटक पशु छोड्नेलाई दुई हजार रुपैयाँ जरिवाना र त्यसपछि पनि छोडेमा थप दण्ड जरिवानाको व्यवस्था गरेको छ भने पशु छोड्ने पशुधनीको बारेमा सूचना दिने व्यक्तिलाई त्यसको २५ प्रतिशत पुरस्कार स्वरूप प्रदान गर्ने नियम बनाएको छ । नगरपालिकाले वडा नम्बर ९ ब्रहदेवमा गौशाला निर्माण गरिसकेको छ भने साउन ९ गते जगतगुरु बालसन्त मोहनशरण देवाचार्यले गौशलाको विधिवत रूपमा उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।